
नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीतिमा १२ प्रतिशत जनमतको भएको पार्टीको नेताले विदेशमा गएर प्रधानमन्त्री पद खोजेको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि टिप्पणी गरेका छन् ।
एमालेको प्रचार तथा प्रकाशन विभागले बुधबार काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको अनलाइन सञ्चारमाध्यमहरुका सम्पादकसँगको अन्तरक्रियामा यस्तो टिप्पणी गरेका हुन् ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आगामी निर्वाचनपछि प्रधानमन्त्री पद सुनिश्चित गर्न भारत भ्रमणमा गएको पोखरेलको आशय थियो ।
उनले भने, ‘पार्टीको जनमत १२ प्रतिशत पनि छैन तर, प्रधानमन्त्री खोज्न विदेश दौडिएका छन् ।’
एमाले महासचिव पोखरेलले तत्कालिन नेकपाका बहुमत सचिवालय सदस्यहरू वापमन्थी एकताको लागि छलफल गर्न जुटेको विषयमा पनि टिप्पणी गरेका छन् ।
उनीहरु नेकपामा हुँदादेखि नै मोर्चाबन्दीमा रहेकाले अहिले फेरि छलफलमा जुट्नु नयाँ कुरा नभएको उनको भनाई थियो ।
‘एमालेविरुद्धको मोर्चामा सधैं जुटेकै थिए नि । अहिले फेरि जुट्नु के नौलो कुरा भयो र ?’, उनले भने ।
पाँचै जना नेता एक ठाउँमा जुट्दा पनि पार्टीको जनमत भने एमालेको तुलनामा आधा पनि नहुने पोखरेलले बताए ।
‘एमालेको तुलनामा आधाभन्दा कम जनमत भएको शक्ति जुटेर केही हुँदैन’, पोखरेलले भने ।
माओवादी केन्द्रको १२ प्रतिशत र एकीकृत समाजवादीको ४ प्रतिशत जनमत रहेको पोखरेलले दावी छ ।