
दोस्रो पटक नेपाली टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका क्रिकेट प्रशिक्षक पुबुदु दाशानायकेले बुधवार राजीनामा दिएका छन् ।
स्कटल्याण्ड भ्रमणअघि नै नेपाल क्रिकेट संघ (क्यान) मा राजीनामा बुझाएका प्रशिक्षक दाशानायकेले बुधवार पत्रकार सम्मेलन गरेर सञ्चारमाध्यममा राजीनामा दिएको बताएका छन् ।
खेलाडी र क्यानबीच विवाद भइरहँदा दोस्रोपटक नेपाली टोलीको प्रशिक्षकमा नियुक्त भएका पुवुदबाट नेपाली क्रिकेट टोलीले धेरै अपेक्षा राखेको थियो तर आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत स्टकल्याण्डमा सम्पन्न त्रिकोणात्म शृंखला नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसक्दा प्रशिक्षक आलोचित भएका थिए ।
भ्रमणमा नेपालले ४ मध्ये ३ खेल गुमाएपछि प्रशिक्षक आलोचित भएका थिए । यद्यपि दाशानायकेले भ्रमणअघि नै राजीनामाको पत्र क्यानमा पठाएको थिए । बुधवारको पत्रकार सम्मेलनमा पुबुदुले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएको बताए । उनले कठिन अवस्थामा नेपाली टोलीलाई सम्हाल्दै अगाडि बढाउन नसकेको स्वीकार गरे ।
स्कटल्याण्ड भ्रमणअघि नेपालले अमेरिका भ्रमण गर्दा पनि खराब प्रदर्शन गरेको थियो । भ्रमणमा नेपालले ४ मध्ये १ खेल जितेको थियो भने २ खेलमा नतिजा सुम्पिएको थियो । १ खेल भने वर्षाका कारण ‘टाई’ भएको थियो ।
औपचारिक रूपमा बुधवार पदबाट राजीनामा घोषणा गरेका दाशानायकेले अहिलेको नेपाली टोलीमा युवा खेलाडीको बाहुल्यता रहेको प्रतिक्रिया जनाए । उनले १२ महिनाभित्र युवा टोलीले राम्रो नतिजा निकाल्ने बताए ।
सन् २०११ देखि २०१५ सम्म पहिलो पटक नेपाली राष्ट्रिय क्रिकेट टोलीको प्रशिक्षण सम्हाल्दा नेपाली टोलीले पहिलो ट्वान्टी–२० विश्वकप खेलेको थियो । बंगलादेशमा भएको प्रतियोगितामा नेपालले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गरेको थियो ।
उनकै प्रशिक्षणमा नेपालले डिभिजन ४ देखि डिभिजन १ सम्मको यात्रा पक्का गरेको थियो । ग्रेडिङको विषयलाई लिएर खेलाडी र क्यानबीच विवाद आएपछि क्यानले पुबुदुलाई अनुभवको आधारमा जिम्मेवारी दिइएको थियो ।