०४ असार २०८३, बिहीबार

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू

वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार गरिन्छ : उद्योगमन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी भित्र्याउन नीतिगत सुधार गरिने बताएका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बिहीवार आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप’ विषयक कार्यशालाको उद्घाटन गर्दै उनले रुग्ण अवस्थाका उद्योग पुनः सञ्चालनका लागि कार्यविधिसहित कार्यक्रम बनाउन लागिपरेको र अर्को महिनाभित्रै त्यसलाई पूर्णता दिइने बताए ।

उनले बजारलाई सुरक्षित र भरपर्दो बनाउनेबारे विज्ञसँग छलफल गरेर उपयुक्त ढाँचा तयार गरिने उल्लेख गरे । उद्योगमन्त्री बडूले बजारमा हल्ला भएजस्तो श्रीलंका भइहाल्ने अवस्था नरहेको तर सजक हुनुपर्ने अवस्था रहेको भन्दै सुजबुझका साथ नीति, योजना कार्यक्रम अघि बढाइनुपर्नेमा जोड दिए ।

उनले एनआरएनए सदस्यलाई नेपालीसरह लगानी गर्ने वातावरण बनाउन मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास व्यक्त गरे । ‘एनआरएनए सदस्यका लगानी आकर्षित गर्न सहजीकरण गरिन्छ । ठूलो लगानी भित्र्याउन तपाईंहरू सक्रिय भइदिनुस्,’ मन्त्री बडूले भने । उनले राष्ट्रिय उत्पादन बढाउने र रोजगारी सिर्जना गाउँदेखि शहरसम्म विस्तार गर्न बजेट कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरिने विश्वास व्यक्त गरे ।

अर्थ मन्त्रालयका सहचिव रमेशकुमार केसीले आधुनिकता र विकासको साझेदारका रूपमा रहेको एनआरएनलाई सरकारले लिएको भन्दै विदेशी मुद्रामा निक्षेप राख्न पाउने प्रावधान ल्याइएको र देशभित्र लगानी सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताए ।

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकार र निजी क्षेत्रले दुवै सक्रिय हुनुपर्ने खाँचो औंल्याए । उनले श्रमिकले १० प्रतिशत शेयर भर्न पाउने व्यवस्था भदौभित्रै कार्यान्वयनमा ल्याउने गरी आवश्यक तयारी भइरहेको जानकारी दिए ।

नेपाल बैंकर एसोसिएसनका पूर्व अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले वैदेशिक पुँजीको राम्रो स्रोत एनआरएनएको लगानी भए पनि बढीभन्दा बढी रेमिट्यान्स भित्र्याउन नीतिगत सुधार जरुरी भएको उल्लेख गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्