१२ असार २०८३, शुक्रबार

सेनालाई २५०० रोपनी जग्गा दिने निर्णय

सेनालाई २५०० रोपनी जग्गा दिने निर्णय

पनौती नगरपालिकाले नेपाली सेनाको सैनिक प्रतिष्ठान सञ्चालनार्थ दुई हजार ५०० रोपनी जग्गा दिने निर्णय गरेको छ । नगरले वडा नं ८ र ९ मा पर्ने इन्द्रेश्वर थल्पु सामुदायीक वन क्षेत्रमा उक्त परिमाणको जग्गा दिने निर्णय गरेको हो । 
    
नगरले इन्द्रेश्वर थल्पु वनको ‘ख’, ‘ग’ र ‘घ’ ब्लक क्षेत्रको दुई हजार ५०० रोपनी क्षेत्रफलको वन सेनालाई प्रयोग गर्न दिने निर्णय भएको नगरका वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीले बताए । 

उनका अनुसार पनौती नगरलाई सदरमुकाम धुलिखेलस्थित नेपाली सेनाको कालिजङ्ग गणबाट जग्गा उपलब्ध गराउन माग भएबमोजिम गत असार ३० गतेको कार्यपालिका बैठकमा नगरले जग्गा दिने निर्णय गरेको हो । 
    
नगरले इन्द्रेश्वर थल्पु सामुदायिक वनअन्तर्गत प्रयोग भइरहेको कित्ता नं २०९, २८९, ६१९ र ६०९ को वन सैनिक प्रतिष्ठान तालिम केन्द्रलाई दिन प्रक्रिया थालिएको जनाएको छ । यसका लागि जग्गा दिनेबारे आवश्यक कानुनी प्रक्रियासहित थप निर्णय गर्न जिल्ला प्रशासन कार्यालयलाई नगरको निर्णयसहित कागजात पठाइएको छ । 

यस्तै नगरले आफ्नो निर्णयबारे कालिजङ्ग गणलाई जानकारी गराएको छ । सेनालाई प्रतिष्ठान सञ्चालनार्थ सामुदायिक वन क्षेत्रको जमिन दिने विषयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले वन कार्यालय र स्थानीय सामुदायिक वन उपभोक्ता समितिसँग छलफल गर्ने तथा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)सहित वन मन्त्रालय जानुपर्ने जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्