२२ जेठ २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

बढ्न थाल्यो कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयद्वारा १० बुँदे अनुरोध

बढ्न थाल्यो कोरोना संक्रमण, स्वास्थ्य मन्त्रालयद्वारा १० बुँदे अनुरोध

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैं आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित नियमित प्रस्तुती लिएर आएका छौँ–
नेपालमा पछिल्लो दिनमा फेरि कोरोना संक्रमित बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा मात्रै ४३५ जना कोरोना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीवार जम्मा ३ हजार ५३९ नमूना परीक्षण गर्दा ४३५ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार १ हजार ६६७ नमूना परीक्षण गर्दा ३१७ र १ हजार ९०२ एण्टीजेन विधिबाट परीक्षण गर्दा ११८ जना संक्रमित फेला परेका हुन् । 
बिहीवार थपिएसँगै मुलुकभर सक्रिय संक्रमितको संख्या २ हजार ५३७ पुगेको छ । सक्रिय संक्रमितमध्ये २ हजार ३९६ जना होम आइसोलेसन, १४१ जना संस्थागत आइसोलेसन र १९ जनाको आईसीयूमा रहेका छन् । 
००००
यसैगरी संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेको छ । मन्त्रालयले बिहीबार १० बुँदे सूचनामार्फत स्वास्थ्य मापदण्ड पालनामा सबैसँग अनुरोध गरेको हो । 
जसअनुसार सबै सरकारी, गैरसरकारी कार्यालयहरु तथा मानिसको भिडभाड हुने स्थानहरूमा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरिएको छ । यस्तै विमानस्थल, हवाईजहाज लगायत सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग गर्न पनि अनुरोध गरिएको छ । यस्तै गोष्ठी, सेमिनार, बैठक जस्ता भिडभाड हुने कार्यक्रमहरूमा मास्कको अनिवार्य प्रयोग गर्नुपर्ने, विद्यालय, विश्वविद्यालय, धार्मिक स्थल, भिडभाड हुने प्रकृतिका व्यवसायिक तथा मनोरञ्जन स्थलमा पनि अनिवार्य मास्क प्रयोग गर्नुपर्नेछ । 

संक्रमण पुष्टि भई होम आईसोलेसनमा बस्न उपयुक्त नभएका वा संक्रमण पश्चात स्वास्थ्य जटिलता देखिएका व्यक्तिहरूलाई प्रदेश अनुसार तोकिएका कोभिड संक्रमितको उपचार गर्ने अस्पतालमा पठान पनि सूचनामा भनिएको छ ।
००००
भारतको राष्ट्रपतिमा द्रौपदी मुर्मू विजयी भएकी छन् । मतगणनाअनुसार एनडीएकी उम्मेदवार उनी राष्ट्रपतिमा निर्वाचित भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । उनले विपक्षी उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी  हुन् । भारतको राष्ट्रपति बन्ने मुर्मू पहिलो आदिवासी  महिला हुन् । यसैबीच नेपालका राष्ट्रपति र प्रधानमन्त्रीले मुर्मूलाई बधाई तथा शुभकामना दिएका छन् ।
००००
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ऋण दायित्वको किस्ता बापतको १ अर्ब ३५ करोड रुपैयाँ भुक्तानी गरेको छ ।

निगमले डेढ वर्षको दौरानमा तिर्न नसकेको किस्ता रकम निगमको नयाँ व्यवस्थापन आएसँगै ८ महिनामा आर्थिक सुधार भएकाले रकम भुक्तानी गर्न सफल भएको निगमका एक उच्च अधिकारीले बताए ।
००००
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन १० गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले एसईई परीक्षाको नतिजा सार्वजनिक गर्नका लागि आवश्यक काम तीव्ररुपमा भइरहेको जानकारी दिए ।
००००
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई मौद्रिक नीतिको ब्रिफिङ गरेका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले साँझ ६ बजे बालुवाटारमा मौद्रिक नीतिको ब्रिफिङ गरिएको जानकारी दिए ।
००००
संसदीय छानबिन विशेष समितिको समयावधि ७ दिन थप गरिएको छ । बिहीवार बसेको प्रतिनिधिसभा बैठकले समितिको समयावधि ७ दिन थप्ने निर्णय सर्वसम्मतले स्वीकृत गरेको हो । समितिले बजेटको दर हेरफेर भएको भनिएको विवादमा छानबिन गर्दै आएको छ ।
००००
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याइने बताएका छन् ।
गैरआवासीय नेपाली संघले बिहीवार आयोजना गरेको ‘वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेप कार्यशाला’लाई सम्बोधन गर्दै उनले नेपालले वैदेशिक रोजगारीका गएका श्रमिकलाई सामाजिक सुरक्षामा आवद्ध गराउन नयाँ व्यवस्था गरिने बताए ।
००००
अमेरिकी सैन्य साझेदारी कार्यक्रमको सम्बन्धमा संसद्लाई जानकारी गराउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई रुलिङ गरेका छन् । संसदमा सत्तारुढ दलकै सांसदहरूले प्रश्न उठाएपछि सभामुख सापकोटाले त्यसबारे जानकारी दिन सरकारलाई निर्देशन दिएका हुन् ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झिनो अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.८७ अंकले ओरालो लागर दुई हजार ४४.७२ मा ओर्लिएको छ ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका दिलनाथ गिरीलगायतका नेताहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल प्रवेश गरेका छन् । स्पष्टीकरण सोधिएपछि राप्रपा परित्याग गरेका गिरीसहितका चार नेताहरू राप्रपा नेपाल प्रवेश गरेका हुन् । 
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग मतभेद बढेका चार नेतालाई राप्रपाले २४ घन्टे स्पष्टीकरण सोधेको थियो । उनीहरूले स्पष्टीकरण नदिई पार्टी परित्यागको घोषणा गरेका थिए ।
००००
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा बाबुराम भट्टराई र माधव नेपालसँग पार्टी एकताको प्रस्ताव गरेका छन् । 
जनता समाजवादी पार्टीबाट बाहिरिने क्रममा रहेका डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ताको प्रयास गरिरहेका छन् । प्रचण्डले माओवादी केन्द्रमा आउन गरेको प्रस्ताव बाबुराम भट्टराईले अस्वीकार गरेपछि सँगै नयाँ पार्टी बनाउने बारे भट्टराईले प्रस्ताव गरेको स्रोतले बताएको छ ।
००००
ललितपुर महानगरपालिकाको नगर प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ विद्युतीय स्कुटरबाट गस्ती शुरू गरेको छ । ट्राफिक जामका कारण समयमा घटनास्थल पुग्न नसकेपछि नगर प्रहरीले विद्युतीय स्कुटरबाट गस्ती थालेको हो । 

नगर क्षेत्रभित्र पाँचवटा विद्युतीय स्कुटरबाट गस्ती शुरू गरिएको नगर प्रहरीले जानकारी दिएको छ । बिहीवार आयोजित एक कार्यक्रममा नगर प्रहरीले ती विद्युतीय स्कुटर प्रदर्शनसमेत गरेको छ । महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको नगर प्रहरीले जनाएको छ । उक्त गस्तीको शुरूआत नगरप्रमुख चिरिबाबु महर्जनले गरेका थिए ।
००००
अमेरिकी सैन्य साझेदारी कार्यक्रम स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) र आर्थिक सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्बन्धमा भएका सम्झौता र पत्राचारको विवरण दिन सरकारले अस्वीकार गरेको छ । 
‘अर्को मुलुकको सहमति आवश्यक रहेको’ कारण देखाउँदै परराष्ट्रले सूचना दिन अस्वीकार गरेको हो । विभिन्न मितिमा नेपाल र अमेरिकाबीच भएका पत्राचारबारेको कागजात माग गर्दा परराष्ट्र र रक्षा मन्त्रालय दुवैले सूचना उपलब्ध गराउन अस्वीकार गरे ।
२०७९ असार २७ गते परराष्ट्र मन्त्रलायले लोकान्तर प्रतिनिधिलाई दिएको लिखित जवाफमा कूटनीतिक पत्राचार सार्वजनिक गर्न अर्कोे मुलुकको सहमति आवश्यक रहेको हुनाले सूचना दिन नसकिने उल्लेख गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्