१९ असार २०८३, शुक्रबार

उत्तरगंगा नदीमा पुुल नहुँदा नागरिकलाई सास्ती

उत्तरगंगा नदीमा पुुल नहुँदा नागरिकलाई सास्ती

उत्तरगंगा नदीमा पुल नहुँदा नागरिकले सास्ती खेपिरहेका छन् । जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–१० र ११ लाई जोड्ने पक्की पुल नहुँदा उत्तरगंगा वारपार गर्ने सवारीसाधन ठप्प छन् । वर्षात् शुरू भएसँगै जेठको अन्तिम साताबाटै सवारीसाधनले उत्तरगंगा नदी वारपार गर्न छाडेपछि स्थानीयवासी समस्यामा परेका छन् ।

अहिले उत्तरगंगा नदीको बहाव झन् बढेको छ । रुकुमकोटबाट तकसेराका लागि जाने सवारीसाधन तल्लो सेरासम्म जाने गरेका छन् भने सवारी साधनमा गएका मानिस उत्तरगंगा पारिपट्टिबाट अर्को सवारीसाधन फेरेर तक र त्यसभन्दा उतापट्टिका क्षेत्रमा जानुपर्ने अवस्था रहेको स्थानीय दिलु बुढाले बताए । उनका अनुसार मोटरसाइकल र पैदलयात्री भने झोलुङ्गे पुलबाट वारपार गर्ने गरेका छन् । 

पुल नहुँदा नै बर्खाको समयमा सामान ढुवानीमा पनि समस्या हुँदै आएको छ । अहिले तकसेरामा सडक पुगेको १० वर्ष पूरा भइसकेको छ । अहिलेसम्म पुल नहुँदा उत्तरगंगा वारपारको अवस्था सहज नभएको स्थानीयवासीले बताएका छन् । 

मध्यपहाडी लोकमार्ग हुँदै सहिद मार्गले गाउँलाई जोडेको भए पनि उत्तरगंगा नदीले फेरि सडकबाट अलग भएको जस्तो गराइरहेको छ । यस वर्ष पनि उत्तरगंगाको बहाव बढेसँगै उत्तरगंगा पारिपट्टि चल्ने सवारीसाधनका लागि तकसम्म पुग्ने सवारीले तेल ढुवानी गरिदिएर सहयोग गर्ने गरेको यातायात व्यवसायी भूपेन्द्र बिएमले बताए । 

यो सहिदमार्गअन्तर्गतको रुकुमपूर्व–रोल्पा–दाङ सडकखण्डको पुथाउत्तरगंगामा मुख्य सडक हो । पुल निर्माणका लागि डिपिआर भइसकेको थियो । हालसम्म पनि पुल निर्माण हुनसकेको छैन । पुल बनाउने प्रक्रिया शुरू भएको लामो समयसम्म काम थालनी नहुनु दुःखद् भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताए । अब छिट्टै पुल निर्माणको प्रक्रिया शुरू हुने उनले बताए ।

पुल निर्माणका लागि डिपिआर गरेर काम अघि बढाउने क्रममा तल्लो सेरा र माथिल्लो सेराबीचमा पुल बनाउने ठाउँका विषयमा विवाद भएको थियो । रासस
 

salt training

कमेन्ट गर्नुहोस्