नेपालकी सृजना राणा जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरमा निर्वाचित भएकी छन् । उनी जोन्टा इन्टरनेसनलमा निर्वाचित हुने पहिलो नेपाली हुन् ।
बंगलादेश, भारत, नेपाल र श्रीलंकालाई समेट्ने गरी द्विवार्षिकी २०२२–२०२४ को लागि गभर्नरहरूको स्थापना असार १५ मा जोन्टा अन्तरराष्ट्रिय सम्मेलन जर्मनीको ह्याम्बर्गमा भएको थियो । उक्त सम्मेलनबाट राणा गर्भनरमा निर्वाचित भएकी हुन् ।
‘जोन्टा इन्टरनेसनल डिस्ट्रिक्ट २५ को गभर्नरको रूपमा नेतृत्व गर्न पाउँदा म साँच्चै सम्मानित छु । जोन्टाको जनादेश अनुसार, म महिला सशक्तिकरणको लागि काम गरिरहने छु’ नव निर्वाचित गभर्नर राणाले भनिन् । राणा नेपाल–भारत चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिज र होटल एसोसिएसन अफ नेपालकी प्रथम महिला अध्यक्ष पनि हुन् ।
साउन १ गते जोन्टा क्लव काठमाण्डौंको साधारण बैठकमा नवनियुक्त गभर्नर राणालाई अभिनन्दन गरिएको छ । उक्त अवसरमा जोन्टा क्लब काठमाडौंकी अध्यक्ष आभा शाहले भनिन्, ‘जोन्टा क्लब काठमाडौंलाई चार्टर गरेको ९ वर्षभन्दा कम अवधिमा हामीले यो उल्लेखनीय कोसेढुङ्गा हासिल गरेका छौँ ।’
क्लबले डिस्ट्रिक्ट नं २५ की कोषाध्यक्ष मीरा ज्योति, सेक्रेटरी निलिमा श्रेष्ठ र भाइस एरिया डाइरेक्टर एरिया २ कि सीमा गोल्छालाई पनि सम्मान गरेको थियो ।
यो संस्थाको सन्जाल विश्वका ६४ वटा मुलुकमा फैलिएको छ । नेपालमा विगत ९ वर्षदेखि स्वाथ्य, शिक्षा, मानवाधिकार, समानता, आर्थिक सशक्तिकरण, बालविवाह, मानव बेचबिखन रोकथाम, लैंगिक हिंसा रोकथामलगायत विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको छ ।