२८ जेठ २०८३, बिहीबार
मौद्रिक नीतिको समीक्षा

विषम परिस्थितिको मौद्रिक नीति: बैंकर्सको नजरमा चुनावलक्षित, उद्योगी भन्छन्– सोचेभन्दा सहज

विषम परिस्थितिको मौद्रिक नीति: बैंकर्सको नजरमा चुनावलक्षित, उद्योगी भन्छन्– सोचेभन्दा सहज

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिलाई सरोकारवालाहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।

विषम परिस्थितिमा आएको मौद्रिक नीतिमा बाध्यताले खुशी हुन परेको उद्योगी व्यवसायीको टिप्पणी छ भने बैंक सञ्चालकहरूले राष्ट्र बैंकले निर्वाचनलक्षित नीति ल्याएको प्रारम्भिक विश्लेषण गरेका छन् ।

बैंकिङ क्षेत्रमा तरलता अभाव, डलर सञ्चितिमा चाप जस्ता समस्याका कारण अर्थतन्त्र समस्यामा रहेको समयमा नेपाल राष्ट्र बैंकले केही कडाइका साथ मौद्रिक नीतिमा व्यवस्था गरेको छ । 

राष्ट्र बैंकले नीतिगत व्यवस्थामा केही कडाइ गर्दा सरोकारवालाहरूले अर्थतन्त्रमा तत्कालका लागि चाप पर्ने देखिए पनि दीर्घकालमा आर्थिक संकट मोचन गर्ने विश्वास समेत लिएका छन् । 

मौद्रिक नीति सार्वजनिक गर्दै शुक्रवार गभर्नर महाप्रसाद अधिकारीले विषम परिस्थितिका कारण नीतिको कार्यदिशा सजगतापूर्वक एवं विवेकपूर्वक कसिलो बनाइएको बताएका छन् । 

यसैबीच बैंक सञ्चालकहरूको छाता संगठन नेपाल बैंक तथा वित्तीय परिसंघका उपाध्यक्ष एवं मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले मौद्रिक नीति निर्वाचनलक्षित आएको टिप्पणी गरे । 

‘प्रारम्भिक रूपमा भन्नुपर्दा मौद्रिक नीति निर्वाचन लक्षित आएको महशुस भएको छ,’ लोकान्तरसँग उनले भने ।

उनले विषम परिस्थितिको समयमा ल्याइएको मौद्रिक नीति सन्तोषजनक नै रहेको उल्लेख गरे । 

शाहले भने, ‘अहिलेको आर्थिक परिस्थितिलाई हेरेर मौद्रिक नीति ल्याएको देखियो ।’

यता वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघका उपाध्यक्ष सुनिल केसीले पनि विषम परिस्थितिमा मौद्रिक नीति समग्रमा राम्रो रहेको बताए । 

यद्यपि मौद्रिक नीतिले बैंकको ब्याजदर बढ्ने भन्दै उनले यसले केही असर पर्ने बताए । 

उनले भने, ‘तरलता व्यवस्थापन तथा विदेशी करेन्सीको व्यवस्थापन गर्नेगरी नीति ल्याइएको छ,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका केसीले भने, ‘तत्कालका लागि केही असहज देखिएपनि मौद्रिक नीतिले दीर्घकालमा भने राम्रो गर्छ ।’

उनले शेयर बजारमा राखिएको ४/१२ को सीमामा ४ खारेज गर्दा सानालाई समेत समेटिएको उल्लेख गरे ।

यसैगरी विकास बैंकहरूको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष प्रद्युमन पोखरेलले अहिलेको परिस्थितिअनुसार मौद्रिक नीति आएको उल्लेख गरे । 

उनले मौद्रिक नीतिमा बैंकहरूको अनिवार्य नगद मौज्दात (सीआरआर) बढाउँदा बैंकको लागत बढ्ने धारणा राखे । 

उनले भने, ‘(सीआरआर) ३ प्रतिशतबाट ४ प्रतिशत पुर्‍याउँदा बैंकहरूबाट अब कम्तिमा ५० अर्ब रुपैयाँ राष्ट्र बैंकमै फर्कन्छ । यसले बैंकमा नगद मौज्दात बढाउँछ । स्थायी तरलता सुविधा (एसएसएफ)को दर पनि १ प्रतिशतले बढाएको छ । यसले बैंकको लागत बढाउँछ ।’

मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका अध्यक्ष पोखरेलले शेयर बजारका लागि सकारात्मक काम भएको बताए ।  । 

‘न्युनतम ४ करोडको सीमा हटाएर अब १२ करोडको एउटै सीमा राखिनुले शेयर लगानीकर्ताका लागि सकारात्मक सन्देश गएको छ,’ उनले भने ।

लघुवित्त वित्तीय संस्थाले पूँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने व्यवस्था सकारात्मक भएको उनको भनाइ छ । 

व्यवसायीहरूले दिए मिश्रित प्रतिक्रिया

बैंक तथा वित्तीय संस्थाले परिस्थितिजन्य मौद्रिक नीति बताउँदा व्यवसायीहरूले भने बाध्यताले यसमा सन्तोष जनाउनुपर्ने अवस्था आएको बताएका छन् । 

व्यवसायीहरूले मौद्रिक नीतिले केही विषयमा कडाइ गरेपनि धेरै कडाइ नगरेको समेत बताएका छन् । 

नेपाल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तथा उद्योगी पशुपति मुरारकाले बजारमा मौद्रिक नीति कडा आउने ‘हाउगुजी’ फैलाइए पनि सोचेभन्दा सहज आएको टिप्पणी गरे । 

उनले अर्थतन्त्र विषम परिस्थितिमा रहेको समयमा आएको मौद्रिक नीतिले अर्थतन्त्र सुधारलाई प्राथमिकतामा राख्दा आत्तिनुपर्ने अवस्था नहुने बताए । 

यद्यपि बैंकको ब्याजदर बढ्ने, कर्जामा कडाइ लगायतका कुराले निजी क्षेत्रमा प्रभाव पर्ने उनले उल्लेख गरे । 

‘हिजोसम्म निकै कडा मौद्रिक नीति आउँछ भन्ने सोचिएको थियो, तर मैले सोचेभन्दा कम कडा नै आयो, यसर्थ यसमा सन्तोष राख्नुपर्ने हुन्छ,’ लोकान्तरसँग संक्षिप्त प्रतिक्रिया दिँदै उद्योगी मुरारकाले भने, ‘यसले दीर्घकालमा फाइदा हुन्छ भन्ने अपेक्षा छ ।’

उद्योगी मुरारकाले शेयर बजारमा ४/१२ को सीमामा ४ खारेज गर्दा सबै लगानीकर्तालाई समेटिएको भन्दै यसले सबैलाई सहज हुने बताए । 

यस्तै ब्याजदर बढेपछि अर्थतन्त्र तथा उद्योग व्यवसायमा प्रभाव पर्ने समेत उनको भनाइ छ ।

‘परिस्थितिजन्य मौद्रिक नीतिमा धेरै के गुनासो गर्नु,’ उनले भने, ‘अर्थतन्त्र सहज भए अरू सहज हुँदै जान्छ ।’

यता नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले भने मौद्रिक नीति निजी क्षेत्रका लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ भनेजस्तै आएको टिप्पणी गरे । 

मौद्रिक नीतिले उद्योग व्यवसायमा कडाइ गर्दा समग्र आर्थिक अवस्था तथा निजी क्षेत्रमा प्रभाव पर्ने उनको टिप्पणी छ ।

‘मौद्रिक नीतिले निजी क्षेत्रलाई सहज बनाउनेतर्फ सोचेन,’ उनले भने । 

अध्यक्ष मल्लले साना लगानीकर्ता तथा कृषि क्षेत्रलाई मौद्रिक नीतिले प्राथमिकता दिनु भने सकारात्मक रहेको टिप्पणी गरे ।

‘कृषि तथा उत्पादनशील क्षेत्रमा मौद्रिक नीतिको चासो राम्रो हो, सकारात्मक छ,’ अध्यक्ष मल्लले भने ।

उनले मौद्रिक नीतिको कार्यान्वयन पक्षमा भने आशंका व्यक्त गरे । 

विगतमा पनि नीति आउने तर सही कार्यान्वयन नहुने गरेको भन्दै अहिले पनि यस्तै नहोला भन्न नसकिने उनको भनाइ छ । 

उनले मौद्रिक नीति कसिलो आउँदा व्यवसायीले राहत नपाएको गुनासो गरे । 

salt training

कमेन्ट गर्नुहोस्