
संखुवासभाको चैनपुर नगरपालिकाले ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका मलामीका परिवारलाई जनही १ लाख रुपैयाँ दिने भएको छ ।
मलामी पुगेर फर्कंदै गरेको ट्रयाक्टर दुर्घटनामा परी मृत्यु भएका ३ जनाका परिवारलाई जनही १ लाख रुपैयाँ दिने निर्णय गरेको हो ।
नगरपालिकाको कार्यपालिका बैठकले मृतकका परिवारलाई जनही १ लाख दिने निर्णय गरेको नगर प्रमुख कृष्णकुमार तामाङले जानकारी दिए ।
गत असार २४ गते मलामी बोकेको ट्रयाक्टर दुर्घटना हुँदा चैनपुर नगरपालिका–१० का २४ वर्षीय गंगाबहादुर तामाङ र चैनपुर नगरपालिका–९ का ४६ वर्षीय केशव कार्की र ६६ वर्षीय खड्गबहादुर भण्डारीको मृत्यु भएको थियो भने ट्रयाक्टर दुर्घटनामा परेर ४२ जना मलामी घाइते भएका थिए ।
बैठकले घाइतेमध्ये ३ जनालाई उपचार खर्च समेत उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख तामाङले बताए । गम्भीर घाइते चैनपुर–१० का दीपेश कटुवाल, चित्रबहादुर तामाङ र नरबहादुर कार्कीको सम्पूर्ण उपचार खर्च व्यर्होने निर्णय भएको नगर प्रमुख तामाङले बताए । ४४ जना मलामी बोकेर फर्किंदै गरेको को२त ३९६१ ट्रयाक्टर खाँदबारी–लेगुवा सडक खण्डको दुम्कटामा दुर्घटनामा परेको थियो ।