०९ असार २०८३, मंगलबार

पाङ्ग्रेभिरमा त्रास : वर्षा हुँदा सडकमा लेदोसहित ढुङ्गा–माटो झर्छ

पाङ्ग्रेभिरमा त्रास : वर्षा हुँदा सडकमा लेदोसहित ढुङ्गा–माटो झर्छ

तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ ।

राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो । 

भत्किएको जमिनको बाँकी भाग व्यस्त सडकको माथिपट्टि रहँदा सवारी सञ्चालन जोखिमपूर्ण बनेको हो । निरन्तर वर्षा हुँदा लेदोसहित ढुङ्गा–माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको सवारी चालकहरूले बताएका छन् । शुक्रबारमात्रै लेदोसहित ढुङ्गा–माटो सडकमा खस्दा मेची राजमार्ग केही समय अवरुद्ध भएको थियो ।

पानी पर्नेबित्तिकै लेदोसहित साना–तिना ढुङ्गा र माटो सडकमा खस्ने गरेको छ । तीन वर्षअघि साउन पहिलो साता पहिरो झरेपछि भत्किएको सडकमा अहिले ठुल्ठूला खाल्डा परेका छन् । भत्किएको सडकमा सुस्तरी सवारी चलाउनुपर्ने यहाँ माथिबाट ढुङ्गा–माटो खस्ने क्रमले जोखिम बढाएको हो । भत्किएको जमिनको सबै भाग पहिरो बनेर नखस्ने र जोखिमसमेत उत्तिकै हुने भएपछि सडक डिभिजन कार्यालय इलामले सडकको भित्तामा जालीसहितको पर्खाल लगाएको थियो । तर क्रमशः पहिरो झर्ने क्रमले पर्खाल छिचोलेर सडकसम्म ढुङ्गा–माटो खस्दा यो सडकखण्ड जोखिमपूर्ण बनेको हो ।

शुक्रबार सडक अवरुद्ध बनेका समय उक्त स्थान पुगेका स्थानीयवासीसमेत रहेका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले उक्त खण्ड पानी परेका समयमा जोखिमपूर्ण बन्ने गरेको बताए । पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यान दिँदै सडक डिभिजन कार्यालय इलामले एउटा स्काभेटर उक्त स्थानमा तैनाथ अवस्थामा राखेको छ ।

तीन वर्षअघि ठूलो पहिरो झरेर लामो समयसम्म सडक अवरुद्ध बनेपछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाबाट फाल्गुनन्द–४ राँके बजारसम्म वैकल्पिक मार्ग निर्माण थालिएको थियो । गुम्बाडाँडाबाट निबुखोला हुँदै राँके जोड्ने उक्त मोटरबाटोको ट्र्याक खोल्ने कार्य पूरा भएपछि बजेट अभावका कारण काम रोकिएको छ । मेची राजमार्ग अवरुद्ध बनेको समयमा बजेटको प्रबन्ध गरी ट्र्याक खोल्न थालिएता पनि राजमार्ग सञ्चालन भएपछि वैकल्पिक मार्गको स्तरोन्नतिकार्यलाई सरोकारवालाले भुलेको स्थानीयवासीको गुनासो छ । वैकल्पिक मार्गमा सवारी सञ्चालन सम्भव नभएपछि साना तथा ठूला सवारीका साधन जोखिम मोलेर मेची राजमार्गबाटै सञ्चालन भइरहेका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्