
युनाइटेड कम्युनिटी नेपाल नामक संस्थाले नेपालमै पहिलोपटक कास्की जिल्लामा उड्डयन र स्टीमसम्बन्धी शिक्षा सञ्चालन गर्ने भएको छ । एरोस्टार नामक अमेरिकन संस्थाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको युनाइटेड कम्युनिटी नेपालका कार्यकारी निर्देशक विनोद न्यौपानेले जानकारी दिए ।
संस्थाले सामुदायिक विद्यालयमा उड्डयनसँग सम्बन्धित जानकारीमूलक शिक्षा दिनुका साथै विमानस्थलको स्थलगत अवलोकनमा समेत विद्यार्थीलाई अवसर दिइने बताइएको छ । विमानस्थल सञ्चालन कसरी हुन्छ, सञ्चालनका लागि के–कस्तो जनशक्तिको आवश्यकता पर्दछ र यसको भविष्य लगायतका जानकारी विद्यालय–विद्यालयमा पुगेर विद्यार्थीलाई अभिमुखीकरण गरिने न्यौपानेले बताए ।
विशेषगरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरूलाई यस्तो शिक्षा उपयोगी हुने उनले बताए । त्यसक्रममा विद्यार्थीहरूलाई करियरका अवसरहरूको बारेमा पनि जानकारी गराइने छ । न्यौपानेले भने, ‘उड्डयन क्षेत्रमा प्राविधिक सीपहरू महत्त्वपूर्ण छन् । उड्डयन, अन्य धेरै विषयहरू भन्दा बढी युवाहरूलाई प्रेरित गर्ने र कक्षाकोठामा उत्साह सिर्जना गर्ने क्षमता छ ।’