चार वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा ३ जनालाई शनिवार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा वीरगन्ज महानगरपालिका–२ बस्ने १९ वर्षीय जफ्रुदीन भन्ने सलमान खान, सोही महानगरपालिका–१६ बस्ने १८ वर्षीय किशोर र १२ वर्षीय बालक रहेका छन् ।
बिहीवार साँझदेखि बालिका हराएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा वीरगन्ज महानगरपालिका–२ छप्कैयास्थित खाली जग्गाको झाडीमा ती बालिकाको शव फेला पारेको थियो । अनुसन्धानका क्रममा घटनामा संलग्न १२ वर्षीय बालकलाई पक्राउ गरी सोधपुछ गर्दा अन्य ३ जनाको संलग्नता खुलेपछि उनीहरू पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका क्रममा ती बालिकालाई जबरजस्ती करणी पश्चात हत्या गरिएको बताएको छ । घटनामा संलग्नमध्ये सलमान खानलाई सोही महानगरपालिका–२ घुसुकपुरस्थितबाट तथा १८ वर्षीय किशोरलाई सोही महानगरपालिका–१६ नगवास्थित सडकबाट प्रहरीले पक्राउ गरिएको हो ।
उनीहरू उपर जबरजस्ती करणी तथा ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पर्साबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अर्का एक जना फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।