रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ अफ्रिका भ्रमणका क्रममा आइतवार इजिप्ट पुग्दा भव्य स्वागत पाएका छन् ।
युक्रेनविरुद्ध रुसले गरेको आक्रमणपछि पश्चिमले रुसलाई एक्ल्याएको भाष्य खडा गरिएको बेलामा लाभरोभले पाएको स्वागत आश्चर्यजनक छ ।
कायरोमा लाभरोभले अरब लीगका महासचिवसँग भेटघाट गरे अनि उक्त संस्थाका सदस्यहरूलाई सम्बोधन गरे । त्यहाँबाट उनी इथियोपिया, युगान्डा र कंगोको भ्रमणमा जानेछन् । ती सबै देशको सम्बन्ध पश्चिमसँग हालैका दिनमा बिग्रिएको छ ।
युक्रेन युद्धले रुस र पश्चिमी मुलुकहरूबीच उल्लेख्य विभाजन ल्याएको छ ।
तर अधिकांश अरब र अफ्रिकी मुलुकहरूले कुनै पनि पक्ष लिन मानेका छैनन् किनकि दुवै सरोकारवालासँगको निकटतामा उनीहरूको हित छ । अफ्रिका र पश्चिम एसियामा कमजोर अर्थतन्त्र भएका मुलुकले युद्धका कारण आकासिएको तेलको मूल्य र खाद्य संकटको सामना गरिरहेका छन् ।
लाभरोभले संयुक्त राष्ट्रसंघको मध्यस्थतामा युक्रेनबाट अन्नबाली निर्यातका लागि रुसले गरेको सम्झौता पालन गर्ने प्रतिबद्धता व्यक्त गरे । गत फेब्रुअरी महिनामा रुसी आक्रमणपछि युक्रेनी तटहरूबाट अन्नबाली बोकेका जहाज बाहिर जान पाएका थिएनन् । त्यसमा आश्रित अफ्रिकी मुलुकहरूलाई अप्ठ्यारो परेको थियो ।
#Russian FM Sergei #Lavrov seemed to be man of the day at the Arab League in #Cairo. Representatives of 22 states lined up to shake his hand, as he begins his African tour. 24 July 2022 pic.twitter.com/WwAf1BwQyo
— tim anderson (@timand2037) July 24, 2022