
प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.आरजु राणा देउवाको शल्यक्रिया सम्पन्न भएको छ । उपचारको लागि दुई सातादेखि आरजु दिल्लीमा छिन् । सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै देउवाले आफ्नो शल्यक्रिया सफल भएको बताएकी छन् ।
दिल्लीको म्याक्स अस्पतालमा प्रा. डा हरित चतुर्वेदी नेतृत्वको टीमले देउवाको उपचार गरेको थियो । उपचारको शिलशिलामा आरजु दिल्ली गएको भए पनि राजनीतिक भागबण्डा मिलाउन गएको भनेर आलोचना भएको थियो । आरजु दिल्लीमै रहेको समयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दिल्ली गएका थिए ।
भारतस्थित नेपाली दूतावासमा यी दुई नेताको ‘ब्रेकफाष्ट मिटिङ’ भएको थियो । स्वदेश फर्केपछि प्रचण्डले आरजु उपचारकै लागि दिल्ली गएको र आफूहरूको भेट संयोग भएको बताएका थिए ।