३० असार २०८३, मंगलबार

पर्यटनमन्त्री श्रेष्ठ र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता, पर्यटन पुनरुत्थानमा सहकार्य गर्ने सहमति

पर्यटनमन्त्री श्रेष्ठ र काठमाडौंका मेयर बालेनबीच भेटवार्ता, पर्यटन पुनरुत्थानमा सहकार्य गर्ने सहमति

संस्कृित पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच पर्यटन क्षेत्रको पुनरुत्थानमा सहकार्य गर्ने सहमति भएको छ । सोमवार पर्यटनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौका प्रमुख बालेन्द्र साहबीच भएको भेटमा सहकार्य गर्ने सहमति भएको हो । 

मन्त्री श्रेष्ठको सचिवालयले दिएको जानकारीअनुसार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा कोरोना महामारीबाट अति प्रभावित पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्ने मन्त्रालयको कार्ययोजनामा मेयर बालेनले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए । मन्त्री श्रेष्ठले काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्राको शुरूवात गर्ने योजनामा स्थानीय सरकारहरूको सहयोग आवश्यक रहेको बताएका थिए । उनले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भुनाथ मन्दिर र हनुमानढोका दरबार क्षेत्रलाई सम्पदा पदयात्रामा जोड्ने योजनामा पनि महानगरपालिकाको सहयोग आवश्यक रहेको बताएका थिए । 

उनले पर्यटकीय यातायातलाई सहज बनाउन निजी क्षेत्रको सहकार्यमा ‘होप अन हप अफ’ सिटी बस सञ्चालनमा ल्याउने योजना अघि बढाइएको बताए । महानगरपालिकाले खुलापार्क निर्माण तथा सम्पदा संरक्षण र सम्बद्र्धन गरी ऐतिहासिक शहरको पहिचानलाई थप बलियो बताउनेतर्फ अग्रसर हुनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ । स्थानीय साँस्कृतिक सम्पदाहरूको प्रबद्र्धनले आन्तरिक एवं बाह्य पर्यटन प्रबद्र्धन हुनुका साथै जनताको आर्थिक विकासमा टेवा पुग्ने उनको भनाइ छ । 

मेयर बालेनले आगामी इन्द्रजात्राको अवसरमा विदेशका विभिन्न शहरका मेयर र पाहुनाहरू काठमाडौं आउने जानकारी दिँदै इन्द्रजात्रा व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका थिए । इन्द्रजात्रालाई पर्यटन क्षेत्रको विकाससँग जोडेर अघि बढाउन विश्वका विभिन्न मुलुकका मेयरसहित पाहुनाहरूलाई सहभागी गराउने योजना बनाइएको साहले बताए । परम्परागत जात्रा, चाडपर्व, संस्कृति र सभ्यताले पर्यटकीय आकर्षण बढाउने मेयर बालेनको भनाइ छ । 

उनीहरुबीच काठमाडौं महानगरपालिकाले अघि बढाएको सम्पदा निर्माण–पुनर्निर्माणको अवस्थाबारे पनि छलफल भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्