
कोरोना भाइरसको संक्रमणका कारण सोमवार एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा एक जनाको निधन भएको उल्लेख छ ।
यस्तै सोमवार चार हजार ८०० परीक्षणमध्ये ५६८ जनामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या तीन हजार ५३४ रहेको छ । त्यसैगरी विगत २४ घण्टामा ९५ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।
काठमाडौं जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेको पाइएको मन्त्रालयले जनाएको छ । शून्य संक्रमित भएका जिल्लामा मनाङ, जाजरकोट, कालिकोट, मुगु, हुम्ला र बाजुरा छन् ।
अहिलेसम्म होम आइसोलेशनमा तीन हजार ४०७, संस्थागत आइसोलेशनमा १२७, सघन उपचार कक्ष (आईसीयू)मा २७ र भेन्टिलेटरमा दुईजनाको उपचार भइरहेको छ ।
यसैगरी विगत २४ घण्टामा ६३ हजार ३७२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।