२७ जेठ २०८३, बुधबार

१ नम्बर प्रदेशमा ३२ लाख ७५ हजार नागरिकले लगाए कोभिड विरुद्धको खोप

१ नम्बर प्रदेशमा ३२ लाख ७५ हजार नागरिकले लगाए कोभिड विरुद्धको खोप
प्रतिकात्मक तस्वीर

१ नम्बर प्रदेशमा कोभिड १९ विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् ।

प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसंख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड–१९ विरुद्धको पूर्ण मात्रा खोप साउन ४ गतेसम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिए ।

खोप लगाउनेमध्ये १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो मात्रा, ७९ प्रतिशतले दोस्रो र ५ प्रतिशतले बुस्टर डोज खोप लगाएको प्रमुख साहले बताए ।

प्रदेशमा कोभिड–१९ विरुद्धको ६ प्रकारका खोप नागरिकलाई लगाएका छन् । यसरी लगाइएका खोपमा  कोभिसिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाइजर र मोर्डना रहेका छन् । 
    
प्रदेशमा हालसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ । कतिपय नागरिकले पहिलो खोप लगाएपश्चात विदेश गएको, अन्य प्रदेशमा लगाएको र व्यवस्थित अभिलेख राख्न नसकेका कारण दोस्रो तथा बुस्टर मात्रा कम देखिएको छ ।

प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी तथा हिमाली जिल्लामा खोप लगाउनेको संख्या तुलनात्मक रूपमा बढी रहेको प्रमुख साहले बताए । तराई क्षेत्रमा विभिन्न अफवाह एवं भ्रमका कारण खोप लगाउनेको संख्या कम हुन गएको केन्द्रले जनाएको छ ।  

प्रदेशका १० जिल्लामा भेरोसेल, जोनसन र फाइजर खोपको मौज्दात रहेको केन्द्रले जनाएको छ । ताप्लेजुङ, ओखलढुंगा, धनकुटा, मोरङमा कोभिड १९ विरुद्धको खोप मौज्दात नरहेको केन्द्रका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
    
प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र कार्यालयमा फाइजरको १ लाख ७४ हजार ८०० मात्रा मौज्दात रहनुका साथै प्रदेशका सबै जिल्लामा गरी ४ लाख १८ हजार डोज खोप बाँकी रहेको कार्यालयका श्रेष्ठले जानकारी दिए । प्रदेशमा अहिले सरदर २ हजार ८५० जनाले दैनिक खोप लगाइरहेको कार्यालयका प्रमुख साहले बताए ।

प्रदेशमा ११ हजार कोभिसिल्ड खोप खेर गएको छ । केन्द्रका अनुसार म्याद सकिन १५ दिन बाँकी रहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंबाट खोप पठाएका कारण खेर गएको हो । प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख साहले यसअघि पनि प्रयोग हुन नसक्द अस्ट्राजेनेकाको ५० हजार खोपको मात्रा खेर गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्