
आइतवार राति अछामको तुर्माखाँद गाउँपालिका–२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रशासन कार्यालय अछामका सूचना अधिकारी दीपेश रिजालका अनुसार मृत्यु हुनेमा अन्दाजी वर्ष २५/२६ का वीरेन्द्र विष्ट, वर्ष ४५ की हरिकला विष्ट र वर्ष १५ का संविधान विष्ट रहेका छन् ।
घाइते हुनेमा वर्ष ६५ की नैना विष्ट रहेकी छन् । आइतवार राति अन्दाजी १ बजेतिर आएको पहिरोले अमर विष्टको घर पुरिँदा घरभित्र सुतिरहेका तीनै जनाको मृत्यु भएको हो ।
घाइते नैना विष्टको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र भुलुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा आइतवार राति नै प्रहरी निरीक्षकको कमाण्डमा प्रहरीको टोली खटिए पनि दुर्गम क्षेत्र भएकाले अझै पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।