
लमजुङ तनहुँ जोड्ने डुम्रे बेँसीसहर सडक पहिरोले अवरुद्ध बनाएको छ । आज साँझदेखि परेको अविरल वर्षाले यस सडकअन्तर्गत बेँसीसहर नगरपालिका–१ देउराली डाँडामा पहिरोले आज राति सडक अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक विष्णु विकले बताए।
उनका अनुसार वैकल्पिक सडकका रुपमा रहेको श्रीजङ्ग गण नेपाली सेनाको ब्यारेक, रिठ्ठेबगर हुँदै उदिपुर बजार जोडिने यस सडक माथिबाट रिठ्ठेबगरमा लेदो आएर सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्ध बन्दा काठमाडौँ, पोखरा, चितवन लगायतबाट बेँसीसहर आउँदै गरेका सवारी साधनका यात्रु अलपत्र परेका छन् । पानी परिरहेकाले पहिरो झरिरहेको छ ।
करिब तीन घण्टादेखि अविरल वर्षा भइरहेकाले मस्र्याङ्दी नदीमा पानीको बहाव बढेमा सडक कटान गर्ने उच्च जोखिमसमेत रहेको छ । ४२ किलोमिटरको यस सडकमा वर्खायाममा सवारी साधन तथा यात्रुहरुलाई निकै समस्या भइरहेको छ ।