
बागमती प्रदेशका स्वास्थ्यमन्त्री निमा लामाले पछिल्लो समय देशभर कोभिड–१९ को सङ्क्रमणसँगै प्रदेशमा गर्मी तथा वर्षायाममा देखापर्ने सङ्क्रामक रोगको पनि जोखिम रहेको बताएका छन् ।
आज बागमती प्रदेशसभाको बैठकमा सार्वजनिक महत्वका विषयमा मन्त्री लामाले रोकथामको तयारीका साथै प्रदेशमा सचेतना फैलाउन ध्यान दिनुपर्ने बताए । उनले हालै काठमाडौँ उपत्यका तथा अन्य केही सहरमा झाडापखालाको प्रकोप देखिएको र परीक्षणका क्रममा हैजासमेत देखिएको बताए ।
उनले पछिल्लो जानकारीअनुसार ३४ जनामा हैजा देखिएकामा पाँच वर्षसम्मका बालबालिका तीन जना रहेको जनाए। हाल प्रदेशमा दैनिक २३४ जनामा कोरोना सङ्क्रमण भइरहेको जनाए ।
मन्त्री लामाले सङ्क्रमण दर नियन्त्रण गर्नका लागि प्रदेश सरकारले सङ्घीय सरकारसँगको समन्वयमा कोभिडविरुद्धको खोप अभियान तीव्ररुपमा सञ्चालन गरिरहेको जानकारी दिए । उनले कोभिड–१९ रोग रोकथाम तथा नियन्त्रणका लागि खोपको साथसाथै आम नागरिकमा सचेतना फैलाउन अति आवश्यक रहेको बताउँदै सम्पूर्णमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न र कोभिडविरुद्धको खोप लगाउन अनुरोध गरे ।