२५ जेठ २०८३, सोमबार

मानव सहयोगापेक्षीलाई प्रहरी अस्पतालमा उपचार गरिने

मानव सहयोगापेक्षीलाई प्रहरी अस्पतालमा उपचार गरिने

नेपाल प्रहरी अस्पताल र मानवसेवा आश्रमबीच सहयोगापेक्षी मानवको स्वास्थ्य उपचारलाई सहज बनाउने विषयमा सम्झौता भएको छ । सडकपेटी तथा सार्वजनिकस्थलबाट उद्धार गरी आश्रममा ल्याइएका घरपरिवार तथा आफन्तविहीन नागरिकको अस्पतालले उपचार गर्ने सम्झौता भएको हो । 

सम्झौता पत्रमा नेपाल प्रहरी अस्पताल, महाराजगञ्जको तर्फबाट मेडिकल डाइरेक्टर प्र.अ.म डा. आशा सिंह र मानवसेवा आश्रमका तर्फबाट संस्थाका संस्थापक एवं केन्द्रीय अध्यक्ष रामजी अधिकारीले हस्ताक्षर गरेका छन् । 

सम्झौतामा आश्रमको संरक्षणमा रहेका व्यक्तिहरूलाई अस्पतालको विपन्न नागरिक उपचार कार्यविधि–२०७९ अन्तर्गत छुट्याएको ३ शय्यामा राखी उपचार गराइने उल्लेख गरिएको छ । त्यस्तै, अस्पतालले भर्ना गर्नु पर्ने बिरामीहरूको हकमा भर्ना भएपश्चात औषधि र औषधिजन्य सामग्रीहरू निशुल्क उपलब्ध गराउने छ ।

त्यस अवसरमा अस्पतालका मेडिकल डाइरेक्टरले मानवीय सेवाको कार्यमा सहकार्य गर्न पाउँदा खुसी लागेको बताइन् । ‘जीवनरक्षाको लागि कार्य गर्दै आइरहेका थियौँ । यसमा थप सडकपेटी र सार्वजनिक स्थलमा बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको जीवन बचाउन पाउनु हाम्रो लागि पनि खुसीको कुरा हो,’उनले भनिन् । 

आश्रमले सातै प्रदेशको १९ जिल्लाको २३ स्थानमा सेवा केन्द्र स्थापना गरी करिब देशका सम्पूर्ण जिल्लामा रहेका सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार एवं संरक्षण गरिरहेको छ । आश्रमको संरक्षणमा करिब १ हजार ५०० जना व्यक्तिहरू रहेको र स्थापनाको १० वर्षसम्म आइपुग्दा ७ हजार २०० बढीको उद्धार भइसकेको आश्रमले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्