०९ असार २०८३, मंगलबार

गडरिया दम्पतीको रहस्यमयी मृत्यु– छतमा सुतिरहेका थिए दाजुभाउजु

गडरिया दम्पतीको रहस्यमयी मृत्यु– छतमा सुतिरहेका थिए दाजुभाउजु

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ पार्वतीपुरका एक दम्पतीले मंगलवार रहस्यमय मृत्युवरण गरेका छन् । एक वर्ष अगाडि मात्र विवाह गरेका २५ वर्षीय कृष्ण गडरिया र उनकी श्रीमती २३ वर्षकी अञ्जलीले रहस्यमय मृत्यु वरण गर्नु परेको हो । 

सोमवार साँझ दाजुभाउजुसँग खान खाएर सुतेका उनीहरू मंगलबार बिहान घरबाहिर मृत अवस्थामा भेटिएका थिए । खाना खाएर दाजु–भाउजु भने छतमा सुत्न गएका थिए । उनीहरूकाे मृत्यु स्वाभाविक नदेखिएको प्रहरीले बताएको छ । 

बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले घटना रहस्यमय रहेको बताएका छन् । उनले भने, ‘कृष्णको शरीरमा धेरै रगत लत्पतिएको छ । मुखबाट रगत आइरहेको थियो । दायाँ हातमा सामान्य चोटपटक बाहेक खासै छैन । अञ्जलीको नाडीमा सामान्य चोट छ । श्रीमान-श्रीमतीबीच पनि खासै मनमुटाव भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।’ 

प्रहरीका अनुसार घटनास्थलमा हतियार फेला परेको छैन । घरको ढोका खुला थियो । दाजुभाउजु घरको छतमा सुतिरहेका थिए । गर्मी भएकाले आफूहरू छतमा सुतेको उनीहरूले प्रहरीलाई बताएका छन् । घटना शंकास्पद भएको उल्लेख गर्दै दुई किसिमबाट अनुसन्धान अगाडि बढाइएको एसपी अधिकारी बताउँछन् । 

‘घटनामा पारिवारिक कारण पनि हुनसक्छ, बाह्य कारण पनि हुन सक्छ, शव पोष्टमार्टम हुँदैछ, हामी अनुसन्धानको क्रममै छौँ’ एसपी अधिकारीले लोकान्तरसँग भने । बाँकेका प्रहरी प्रवक्ता मधुसुदन न्यौपानेले अनुसन्धान घटनाको कारणको नजिक पुगेको लोकान्तरलाई बताए । 

गडरिया दम्पतीका सन्तान भइसकेका थिएनन् । कृष्णले नजिकैको स्टील उद्योगमा काम गर्दै आएका थिए । अञ्जली घरमै गृहिणी थिइन् । पछिल्लो समय लुम्बिनी प्रदेशमा अपराधका घटना बढ्दै गएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्