
काठमाडौं महानगरपालिका–५ स्थित रुद्रमती किनार अर्थात धोबीखोला कोरिडोर एक हप्तादेखि ढल फुटेर जलमग्न भएको छ । ढल फुटेर सडक जलमग्न भएका कारण सवारी र पैदलयात्रामा समस्या भएको एक हप्तामा पनि यसको व्यवस्थापनमा सरोकार भएका निकायको ध्यान जान सकेको छैन ।
ढल फुटेर रुद्रमती (धोबीखोला) मा मिसिन थालेको छ । ढल जाम भएर घर–घरमा छिर्न थालेको स्थानीयवासी रमेश डंगोलले गुनासो गरे । धोबीखोला कोरिडोर बनाउनुअघि अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले ढल बिच्छ्याइएको थियो ।
त्यसबेला गुणस्तरीय काम नभएकाले प्रत्येक वर्ष वर्षातको समयमा यो सडकमा समस्या हुने गरेको स्थानीयवासीको भनाइ छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतिले कालोपुलसम्म ढल जाम हुँदा यस क्षेत्रमा समस्या भएको बताए । यस विषयमा अधिकार सम्पन्न वाग्मती समितिका इञ्जिनीयरलाई जानकारी गराएर स्थलगत रूपमा पनि देखाएको उनले जानकारी गराए ।
अधिकार सम्पन्न वागमतीलाई देखाएको एक हप्ता पूरा भए पनि समस्या समाधानका लागि कुनै पहल भने भएको छैन । अधिकार सम्पन्न वागमतीले दुई दिनसम्म प्राविधिकलाई समस्या समाधानका लागि खटाएको जनाएको छ । समितिका सूचना अधिकारी कमल अर्यालले त्यस क्षेत्रमा भूमिगत गरिएको विद्युतको लाइनका कारण पनि ढल व्यवस्थापनमा समस्या भएको बताए । वर्षातमा खोलामा पस्न नसकिने र ढलमा बालुवा भरिएकाले पनि पानी बाहिर आएको उनले सुनाए । रासस