
सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणदर बढ्दै गएको छ । भारतसँग सीमा जोडिएको प्रदेशमा हाल दिनहुँ कोरोना संक्रमणदर बढ्दै गएको हो ।
साउन १ गतेयता सुदूरपश्चिम प्रदेशमा ७५ जनामा संक्रमण पुष्टि भइसकेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
गत असार ३२ गते शून्यमा झरेको संक्रमणदर त्यसयता बढ्दै गएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । भारतमा कोरोना संक्रमण बढ्दै गएकाले सीमा जोडिएको प्रदेश सुदूरपश्चिममा पनि देखिन थालेको छ । जोखिम बढ्दै गएकाले सतर्कता अपनाइएको जोशीले बताए ।
जोखिम बढेकाले भारतसँग सीमा जोडिएका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ । पूर्व निर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो । उनले भने, ‘सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरी परीक्षण र खोपको काम निरन्तर रूपमा भइरहेको छ ।’
कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोना विरुद्धको खोप अभियानलाई प्राथमिकतामा राखिएको छ । ५ वर्षमाथिका सबै बालबालिका र बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रूपमा भइरहेको जनाइएको छ ।
भारतसँग सीमा जोडिएको यस प्रदेशमा समेत कोरोना संक्रमण बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्य रूपमा पालना गर्न निर्देशनालयको आग्रह छ । सुदूरपश्चिम प्रदेशमा हालसम्म ५ लाख ५६ हजार ९७५ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार ८१६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।
संक्रमणकै कारण सुदूरपश्चिम प्रदेशमा ६३३ जनाको ज्यान गइसकेको छ ।