रुसका परराष्ट्रमन्त्री सर्गे लाभरोभ अहिले अफ्रिकाको भ्रमणमा छन् । त्यसैक्रममा बुधवार (२७ जुलाईमा) उनले इथियोपियामा विभिन्न अफ्रिकी मुलुकका राजदूतहरूसँग निजी बैठक गर्ने कार्यक्रम छ ।
इजिप्टको राजधानी कायरोमा उत्तर अफ्रिकी तथा अरब नेताहरूसँगको भेटघाटलगत्तै लाभरोभ कंगो र युगान्डापछि इथियोपिया पुगेका हुन् । युक्रेनमाथि रुसको आक्रमणपछि पश्चिमले रुसलाई कूटनीतिक रूपमा एक्ल्याउन विभिन्न प्रयास गरिरहेको सन्दर्भमा लाभरोभको अफ्रिकी भ्रमणले रुस विश्वबाट नएक्लिएको सन्देश दिन सफलता पाएको देखिन्छ ।
त्यसो त अधिकांश अफ्रिकी नेताहरूले युक्रेनमाथि रुसको आक्रमणको निन्दा गर्न अस्वीकार गरेका छन् । अझ, उनीहरूले द्वन्द्व शुरू गर्न तथा चर्काउनका लागि अमेरिका र नेटो जिम्मेवार रहेको बताएका छन् । यसबाट पनि अफ्रिकीहरूमाझ रुसको छवि राम्रो रहेको पाइन्छ ।
अफ्रिका भ्रमणमा निस्कनुअघि लाभरोभले रुसको परराष्ट्र मन्त्रालयमा प्रकाशित गरेको आलेखमा बहुध्रुवीय विश्व व्यवस्थामा अफ्रिकाको स्थिति थप बलियो बन्नुपर्ने भनी रुसले सधैं वकालत गरिरहेको उल्लेख गरेका छन् । अमेरिका तथा उसका युरोपेली सेवक राष्ट्रहरूले विश्व समुदायमा एकध्रुवीय व्यवस्था लाद्न गरेको प्रयासलाई अफ्रिकीहरूले अनुमोदन नगरेको भन्दै लाभरोभले प्रशंसा गरे ।
नयाँ विश्व व्यवस्था संयुक्त राष्ट्रसंघको बडापत्रमा उल्लेखित सिद्धान्तमा आधारित रहनुपर्ने र विश्वको सांस्कृतिक तथा सभ्यतागत विविधतालाई यसले मनन गर्नुपर्ने उनको भनाइ बहुध्रुवीयताको दह्रो पैरवी हो ।
महत्त्वपूर्ण रूपमा लाभरोभले आफ्नो लेखमा अफ्रिकीहरूको एउटा गुनासोलाई सम्बोधन गर्ने प्रयास गरेका छन् । अफ्रिकामाथि पश्चिमले लादेको बर्बर उपनिवेशवादको रगतले रुस नलतपतिएको र उपनिवेशवादी दमनबाट अफ्रिकीहरूलाई मुक्त गर्नका लागि रुसले सदैव समर्थन गरेको लाभरोभले बताए । अफ्रिकाले माग गरिरहेको पूर्ण गैरउपनिवेशीकरण प्रक्रियामा रुसले एक्यबद्धता जनाएको लाभरोभको भनाइ छ ।
उपनिवेशीकरणको विरोधका क्रममा लाभरोभले अफ्रिकी समस्याका लागि अफ्रिकी समाधानको अवधारणा अघि सारेका छन् । त्यस अवधारणाको कार्यान्वयन पनि रुसले गर्न थालिसकेको छ ।
विशेषगरी (सेनेगल, माली, बुर्किना फासो लगायतका मुलुक समेट्ने) अफ्रिकाको सेहल क्षेत्रमा साम्राज्यवादी शक्तिको विरासतका रूपमा रहेको फ्रान्सका विरुद्ध जनभावना उर्लिरहेको सन्दर्भमा रुसले आफूलाई बलियो र भरपर्दो साझेदारका रूपमा उभ्याउन खोजेको छ । ती क्षेत्रमा रहेका मुलुकमा विगतको उपनिवेशवादी अत्याचारको स्मरण गराउने फ्रान्सेली मुद्रा सीएफए फ्रांक अहिले पनि प्रचलनमा छ । त्यस मुद्राको विकल्पका रूपमा स्थानीय मुद्रा चलाउनका लागि रुसले ती मुलुकहरूसँग पैरवी गरिरहेको छ ।
अनि त्यस क्षेत्रमा फैलिएको आतंकवादको सामना गर्नका लागि त्यहाँका मुलुकहरूले रुससँग सहयोग पनि मागेका छन् । सन् २०१८ मा माली, नाइजर, चाड, बुर्किना फासो र मौरिटानिया सबैले इस्लामिक स्टेट र अलकायदाविरुद्ध लड्नका लागि मस्कोको सहयोग मागेका थिए ।
रुस सरकारसँग सम्बन्ध रहेको भनिने निजी कम्पनी वाग्नर ग्रुपले विभिन्न अफ्रिकी मुलुकहरूलाई भाडाका सैनिक उपलब्ध गराएर शान्ति सुरक्षा बहालीमा योगदान गरेको छ । द गार्डियन पत्रिकामा जेसन बुर्कले तयार पारेको सामग्रीमा उल्लेख भएअनुसार, गत वर्ष मालीमा सैन्य कूपछि वाग्नर ग्रुपका लडाकूहरू खटिएका छन् र यसमार्फत रुसले भूराजनीतिक सफलता पाएको छ । माली सरकारले जिहादी विद्रोहीहरूसँग लडिरहेका फ्रान्सेली सैनिकहरूलाई देश छोडेर जान बाध्य पारेपछि पश्चिमको पकडबाट महत्त्वूर्ण रणनीतिक क्षेत्रलाई मुक्त गर्न रुस सफल भएको छ ।
युरोपेली उपनिवेशवादविरोधी कुरा झिकेर लाभरोभले विगतमा सोभियत संघले अफ्रिकीहरूको स्वतन्त्रताका लागि गरेको योगदानलाई स्मरण गराएका हुन् । सन् १९५० को दशकमा सोभियत संघले अफ्रिकाका विभिन्न मुलुकमा युरोपेलीहरूका विरुद्ध स्वतन्त्रता आन्दोलनलाई समर्थन गरेको थियो । त्यतिखेर सोभियत रुसले अनेक किसिमका हातहतियार अफ्रिकीहरूलाई उपलब्ध गराएको थियो ।
मस्कोको उक्त सहयोगलाई धेरै अफ्रिकीहरूले स्वागत गरेका थिए । शीतयुद्धको समयमा सोभियत संघ दह्रो गरी अफ्रिकीहरूको पक्षमा नउभिएको भए धेरै अफ्रिकी मुलुक स्वतन्त्र हुन गाह्रो थियो भनी नाइजेरियाको केन्द्रीय बैंकका पूर्व उपगभर्नर ओबादियाह माइलाफियाले जर्मन सञ्चारमाध्यम डोयचवललाई बताएका छन् ।
सोभियत संघको पतनपछि रुसी सहयोगमा कमी आएको भए पनि अब रुस पुनः शक्तिशाली बनिसकेको सन्दर्भमा अफ्रिकाले पारस्परिक लगानी तथा व्यापार सहकार्य गरी लाभ लिन सक्ने उनको भनाइ छ । विगतमा उपनिवेशबाट स्वतन्त्रताका लागि सोभियत रुसले योगदान गरेकोमा अहिले रुसले आर्थिक कारोबारमार्फत पश्चिमको नवउपनिवेशवादी प्रयास अफ्रिकामा विफल बनाउने रणनीति लिएको हो ।
पश्चिमी नवउपनिवेशवादबाट मुक्तिका लागि अफ्रिका व्यापार विविधीकरण गर्न खोजिरहेको छ र त्यसै सिलसिलामा चीन (र रुस) सँग कारोबार बढाउन थालेको छ । रुसले अफ्रिकाका विभिन्न मुलुकमा खानीका क्षेत्रमा लगानी गरेको छ भने कृषि औजार र आणविक प्रविधि पनि बिक्री गरिरहेको छ ।
सबभन्दा ठूलो कुरा त, रुस (र युक्रेन) को गहुँले करोडौं अफ्रिकीहरू हातमुख जोर्न पाइरहेका छन् । रुस र युक्रेनबीच द्वन्द्व मच्चिँदा अफ्रिकाका कम्तीमा १४ वटा मुलुकलाई बढी असर परिरहेको संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संस्था (एफएओ) ले जनाएको छ ।
ती १४ मुलुकको आधाभन्दा बढी गहुँ रुस र युक्रेनबाट आउने गरेको द न्युयोर्क टाइम्समा अब्दी लतिफ दाहिर र एलियन पेल्टियर लेख्छन् । इरिट्रिया त पूर्णरूपमा रुसी र युक्रेनी गहुँमा निर्भर छ ।
रुसले कृष्ण सागरको युक्रेनी तटमा नाकाबन्दी गरेकाले गहुँ आपूर्ति सहज हुन नसकेको पश्चिमको आरोप छ । रुस चाहिँ कृष्ण सागरमा युक्रेनले समुद्री धराप राखेकाले आपूर्तिमा व्यवधान आएको बताउँछ ।
गत साता संयुक्त राष्ट्रसंघ र टर्कीको मध्यस्थतामा रुस र युक्रेनले आपूर्ति खुलाउने विषयमा सहमति गरेपछि अफ्रिकीहरूले सन्तोषको सास फेर्न थालेका छन् । अफ्रिका भ्रमणमा निस्कनुअघि लाभरोभले अफ्रिकालाई खाद्यान्न, मलखाद, ऊर्जा तथा अन्य आवश्यक वस्तु निर्यात गर्ने मस्कोको प्रतिबद्धता पूर्ण रूपमा पालन गर्ने आश्वासन दिएका थिए ।
रुस र अफ्रिकाबीच बढ्दो घनिष्ठताको संकेत दिने गरी पहिलो रुस–अफ्रिका शिखर सम्मेलन सन् २०१९ मा रुसी शहर सोचीमा भएको थियो । दोस्रो शिखर सम्मेलन सन् २०२३ मा आयोजना गरिनेछ र रुसको परराष्ट्र मन्त्रालयले जनाएअनुसार दुवै पक्षले सम्मेलनको एजेन्डाका विषयलाई अन्तिम रूप दिन काम थालिसकेका छन् ।
पश्चिमबाट लाभ उठाउनका लागि अफ्रिकी मुलुकहरूलाई रुससँगको समीपताले योगदान गरेको विश्लेषकहरू बताउँछन् । रुसको सक्रियता बढेसँगै गत साता मात्र अमेरिकाले अफ्रिकामा भोकमरी संकटको सामना गर्नका लागि १.३ अर्ब डलर प्याकेजको घोषणा गरेको छ । रुसले पनि अफ्रिकी अर्थतन्त्र उकास्नका लागि भविष्यमा ठोस आर्थिक तथा वित्तीय सहायता उपलब्ध गराउने आशा अफ्रिकीहरूले गरिरहेका छन् ।
अन्तर्राष्ट्रिय राजनीतिमा किनारीकृत पारिएको अफ्रिकामा यसरी विश्वका शक्तिराष्ट्रहरूले प्रभाव विस्तार गर्न खोज्नु सुखद् संकेत हो । धेरै अर्थशास्त्रीहरूले अस्थिरता अन्त्य हुने हो भने अफ्रिकाको भविष्य उज्ज्वल रहेको बताउँदै आएका छन् । हुन पनि प्रशस्त खेतीयोग्य भूमि, उत्खनन गर्न बाँकी रहेको खनिज स्रोत र काम गर्न सक्ने जनसंख्यामा वृद्धिको प्रक्षेपणले अफ्रिकालाई समृद्ध बनाउने आधारहरू प्रदान गरेको छ ।
अहिले अफ्रिकामा भौतिक संरचना तथा दक्ष जनशक्ति उत्पादनका लागि विशाल लगानीको आवश्यकता रहेको अफ्रिकी मुलुक मोरक्कोका प्राध्यापक डा मोहम्मद चतातु लेख्छन् । पश्चिम र रुस (तथा चीन) बीच अफ्रिकामा प्रभाव जमाउनका लागि भइरहेको प्रतिस्पर्धालाई अफ्रिकाको हितका लागि उपयोग गरिनु आवश्यक छ ।
हुन त रुस र चीनले अफ्रिकामा नवउपनिवेशवाद लागू गर्न खोजेको भनी पश्चिमले आरोप लगाएर आफ्नो अक्षुण्ण प्रभाव कायम राख्न खोजेको छ । तर लाभरोभलाई न्यानो स्वागत गरेर अफ्रिकीहरूले पश्चिम र रुसलाई सन्तुलनमा राखी बहुध्रुवीय विश्व व्यवस्थाको भरपूर उपयोग गरी आआफ्नो राष्ट्रिय स्वार्थ पूरा गर्न चाहेको देखिन्छ ।