
कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पंचलाल बुढासहित ९ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
कार्यालयका सबइन्जिनीयर राजेन्द्र शाही, तत्कालीन नाप्रास मणिचन्द्र विक, जिल्ला समन्वय समिति मुगुका तत्कालीन खरिदार विश्वास उपाध्याय, कृषि सिँचाइ आयोजना उपभोक्ता समितिका अध्यक्ष बखतबहादुर सेजुवाल, सचिव लालबहादुर सेजुवाल, कोषाध्यक्ष उजेली नेपाली र सहसचिव सुरेश वुढालाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको हो ।
रारा नगरपालिका–१० का तत्कालीन वडाध्यक्ष धर्मदत्त सावतविरुद्ध पनि मुद्दा दर्ता गरिएको हो ।
आर्थिक वर्ष २०७६/०७७ मा नगरपालिका–१० स्थित तीनमुखेदेखि लुवाबान्नासम्म सिँचाइ कुलो निर्माणको लागि कृषि विकास कार्यालय मुगुबाट विनियोजन भएको रकममा अनियमितता भएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।
तीनमुखेदेखि लुवाबान्ना कृषि सिँचाइ आयोजनाको यथार्थ नापजाँच गरी कार्यमूल्यांकन गर्नुको सट्टा सो नगरी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन तयार गर्ने, इस्टिमेट अनुसारको सबै काम भइसकेको भनी नापी किताब, कार्यसम्पन्न प्रतिवेदन स्वीकृति गरी नगरी २३ लाख १० हजार ५९६ रुपैयाँ उपभोक्ता समितिलाई बढी भुक्तानी दिइएको अभियोग पत्रमा उल्लेख छ ।
उपभोक्ता समितिका पदाधिकारीले मिलेमतो गरी आफूलाई गैरकानूनी लाभ पुर्याई नेपाल सरकारलाई गैरकानूनी हानिनोक्सानी पुर्याउने कार्य गरी भ्रष्टाचार गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।