
पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सैन्य गठबन्धनमा सामेल हुने कुरा कल्पना पनि गर्नु नहुने बताएका छन् ।
बुधवार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै पूर्व प्रधानमन्त्री नेपालले नेपाललाई कुनै पनि सैन्य गठबन्धनमा सामेल गराउने कुरा कल्पना पनि गर्न नहुने बताए ।
उनले नेपाललाई सैन्य गठबन्धनमा सामेल नगराउने राजनीतिक पार्टीहरूको अडान हुनुपर्ने र सरकार पनि सो अडानमा खुट्टा नकमाई अगाडि बढ्नुपर्ने बताए । अध्यक्ष नेपालले परराष्ट्र नीति र राष्ट्रिय सुरक्षाको नीतिको मामिलामा राष्ट्रिय सहमति हुनुपर्ने बताए ।
नेपालले आर्थिक सहयोग लिँदा राष्ट्रिय हीतमा आघात पुग्ने गरी अनुचित शर्त स्वीकार गर्न नहुने उनले बताए । उनले भने, ‘देशको रक्षाका निम्ति एकताबद्ध भएर अगाडि बढौं । हामीले परराष्ट्र नीतिको मामिलामा, राष्ट्रिय सुरक्षा नीतिको मामिलामा नेपालमा राष्ट्रिय सहमति कायम गर्ने कुरा ठीक हो । व्यापक छलफल, परामर्श गर्ने कुरा पनि ठीक हो । नेपालले आर्थिक सहयोग लिँदा पनि अनुचित शर्तहरूमा सही गर्ने गरेको कुरा पनि सुन्नमा आउँछ । अनुचित शर्तहरू स्वीकार गरेर आर्थिक सहयोग पनि लिने कुरा आउँदैन । त्यसो हुनाले नेपालको हीतमाथि आघात पुग्ने किसिमका अनुचित शर्तहरू राखेर आर्थिक सहायता पनि आउँछन् भने मान्नु हुँदैन भने सैनिक कुरासँग जोडिएको, सुरक्षासँग जोडिएका कुराहरूमा कुनै गठबन्धमा, कुनै कसैको एलायन्स बनेर जाने कुराको सन्दर्भमा नेपालले सामेल हुने कल्पना नगरे पनि हुन्छ । नेपालीहरूको यो अडान हो । नेपालका राजनीतिक पार्टीहरूको यही अडान हुनुपर्दछ र त्यो अडानमा अहिलेको सरकारले पनि खुट्टा नकमाइकन अगाडि बढ्नुपर्छ ।’
पूर्व प्रधानमन्त्री नेपालले देशको रक्षाको निम्ति सबै एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।