०२ असार २०८३, मंगलबार

बागलुङमा जडीबुटी निकासी घट्दो

बागलुङमा जडीबुटी निकासी घट्दो

प्राकृतिक उत्पादनमा निर्भर रहेको बागलुङमा जडीबुटी निकासी घट्दै गएको छ । अघिल्लो वर्षको तुलनामा जडीबुटी संकलन र निकासी दुवै घटेको हो । कोरोना महामारीअघि फैलाउँदै गएको जडीबुटीको संकलन र निकासी पछिल्लो दुई वर्षमा घटेको पाइएको छ । 

डिभिजन वन कार्यालयको तथ्यांकअनुसार बागलुङबाट विभिन्न १९ प्रजातिका जडीबुटी संकलन र निकासी हुने गरेको छ । कोरोना महामारीअघि ७० हजार किलोभन्दा बढी संकलन तथा निकासी भएको जडीबुटी कोरोना महामारीपछि आर्थिक वर्ष २०७७÷७८ मा ६३ हजार पाँच किलो मात्रै संकलन भएको थियो । उक्त जडीबुटीबाट डिभिजन वन कार्यालयले रु चार लाख ८७ हजार दुई सय ९० राजस्व संकलन गरेको थियो । 

आव २०७८÷७९ मा त्यो संख्या अझै घटेको छ । बितेको एक वर्षमा ४५ हजार एक सय ५४ किलो मात्रै जडीबुटी संकलन भएको छ । डिभिजन कार्यालयका अनुसार यो अवधिमा रु चार लाख ५४ हजार राजस्व संकलन भएको छ । 

सर्वसाधारणलाई जडीबुटीको विषयमा जानकारी कम हुनु, उत्पादन बढाउन नसकिनु र प्राकृतिक उत्पादनमा मात्रै भर पर्नुपरेका कारण उत्पादनमै गिरावट आएको अधिकारीले बताए । राजस्वको अंक हेर्दा धेरै फरक परेको नदेखिए पनि उत्पादन अंक निकै घटेको उनले बताए । 

चोरी बाटोबाट निकासी भएको जडीबुटीको विषयमा भने सम्बन्धित निकाय बेखबर छन् । बागलुङबाट गत आवमा सेतो चिनी नौ हजार पाँच सय किलो, रातो च्याउ नौ सय ९० किलो, सुगन्धावाल एक हजार ३० किलो, पाषणवेद चार हजार चार सय किलो र  ठुलो ओखती एक हजार तीन सय २० किलो निकासी भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्