
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै संघीय संसद्को निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको बताएका छन् ।
पार्टी सम्बद्ध प्रेस सेन्टर नेपालका पदाधिकारीसँग बिहीवार आफ्नै निवास खुमलटारमा भएको छलफलमा अध्यक्ष दाहालले संघीय निर्वाचनको तयारी भइरहेको र एकाध दिनमै मिति घोषणा हुने बताए ।
अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीले निर्वाचनको मिति घोषणा गर्ने कुरा गर्नुभएको छ । मैले संघीय संसद्मा विचाराधीन केही विधेयकलाई टुंगो लगाएर मात्रै घोषणा गरौं भनेर आग्रह गरेको छु ।’
उनले वर्तमान गठबन्धनलाई निर्वाचनसम्म लैजाने र त्यसमा कुनै पनि दायाँबायाँ नहुने जानकारी दिए । उनले गठबन्धनलाई कायम राखेर विचार मिल्ने पार्टी र शक्तिसँग पनि मिलेर अगाडि बढ्ने स्पष्ट पारे ।
उनले आफूले पार्टीका नेताहरूलाई पनि गठबन्धनबाट दायाँबायाँ नहुने बताइसकेको र त्यसमा कुनै तलमाथि नहुने स्पष्ट पारेको बताएका थिए । उनले परिवर्तनका सबै एजेण्डाको कार्यान्वयनका लागि पनि माओवादीले निर्वाचन जित्नै पर्ने धारणा राखेका थिए ।
‘माओवादी कमजोर हुँदा परिवर्तनका एजेण्डा समस्यामा पर्न थालेका छन् । देश, जनता र परिवर्तनको एजेण्डालाई मूर्त रूप प्रदान गर्न पनि माओवादीले जित्नैपर्छ,’ उनले भने । उनले पार्टी स्थायी समितिको जारी बैठकबाटै पदाधिकारी चयन गरिने बताएका थिए ।