२९ असार २०८३, सोमबार

सभामुखसँग बारको मागः प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाइयोस्

सभामुखसँग बारको मागः प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव अघि बढाइयोस्

नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सभामुख अग्निप्रसाद सापकोटासँग भेटेर निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव तत्काल अगाडि बढाउन आग्रह गरेका छन् । बारका अध्यक्ष वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको अगुवाइमा सोमवार सभामुख सापकोटासँग ४५ मिनेट छलफल भएको थियो । 

नेपाल बार एसोसिएसनकी महासचिव अन्जिता खनालले सभामुखसँगको भेटमा महाभियोग प्रस्ताव अगाडि नबढाइएकोमा चासो व्यक्त गरिएको बताएकी छन् ।

‘नेपाल बारको यसअघिको कार्यसमितिले १७ बुँदे ज्ञापनपत्र दिइसकेको छ । महाअभियोगको प्रस्ताव अगाडि बढाउन त्यसमा नै पर्याप्त प्रमाण छ तै पनि कारबाहीको प्रक्रिया किन अगाडि बढेको छैन भनेर हामीले सभामुखज्यूको ध्यानाकर्षण गराएका थियौँ,’ महासचिव खनालले लोकान्तरसँग भनिन्, ‘त्यसबाहेक प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनाव घोषणा भए महाअभियोग प्रस्तावको के हुन्छ भन्ने विषयमा पनि उहाँको धारणा माग्यौँ ।’

सभामुख सापकोटाले बजेट अधिवेशनमा व्यस्त भएकोले उक्त प्रस्ताव अघि नबढाएको बार पदाधिकारीलाई बताएका थिए । उनले अब छिट्टै उक्त महाभियोग प्रस्तावलाई निष्कर्षमा पु¥याइने जवाफ दिएको खनालले बताइन् । 

‘संसद् बजेट अधिवेशनमा व्यस्त हुनुपरेकाले महाअभियोग प्रस्ताव सम्बन्धी अघि नबढेको उहाँले जानकारी दिनुभएको छ । महाअभियोगसम्बन्धी कार्यविधि बन्न नसकेकाले ढिलाइ भएको हो, अब तत्काल कार्यविधि बनाएर निष्कर्षमा पु¥याइने सभामुखज्यूले आश्वासन दिनुभयो,’ खनालले लोकान्तरसँग थपिन्, ‘तर, चुनाव घोषणा भएपछि के हुने भन्ने विषयमा उहाँले कुनै जवाफ दिनुभएन ।’

त्यसैगरी संसदमा बनेको कानूनहरू छिटो–छिटो संशोधन भइरहेको अवस्थाप्रति पनि बारले चासो राखेको थियो । ‘कानून सम्बन्धी विज्ञको अभावमा विधेयक बन्दा संसदबाट बन्ने कानून दीर्घकालीन नभएर तत्काल संशोधनमा गइरहेको हुनाले हामीले चासो राखेका थियौँ,’ महासचिव खनालले लोकान्तरसँग भनिन्, ‘जुनसुकै विषयको पनि संसद्ले मागे विज्ञ उपलब्ध गराएर सहयोग गर्न तयार रहेको कुरा हामीले बतायौँ ।’
 

salt training

कमेन्ट गर्नुहोस्