१३ असार २०८३, शनिबार

‘राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता’को उपाधि नगरकोटलाई, ६ लाख पुरस्कार

‘राष्ट्रिय खुला दोहोरीगीत प्रतियोगिता’को उपाधि नगरकोटलाई, ६ लाख पुरस्कार

पोखरामा आयोजना गरिएको ‘राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता’को उपाधि नगरकोट दोहोरी साँझ काठमाडौंले जितेको छ । 

सोमवार भएको फाइनल प्रतिष्पर्धामा दरबार दोहोरी साँझ काठमाडौंलाई  पराजित गर्दै नगरकोटले उपाधि जितेको हो । दरबार दोहोरी साँझ उपविजेता बनेको छ ।  प्रतियोगिताको उपाधि जित्ने नगरकोट दोहोरी साँझले ६ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता दरबार दोहोरी साँझले नगद ४ लाख पुरस्कार प्राप्त गरेको छ । तेस्रो स्थानमा जुनकिरी दोहोरी क्लब र नेम्बो रोधीघर अष्ट्रेलिया भए ।

दुवै टिमले बराबर अंक प्राप्त गरेपछि दुवै टिम तृतीय बनेका हुन् । तृतीय हुन सफल दुई समूहले डेढ–डेढ लाख नगद पुरस्कार हात पारेको प्रतियोगिता संयोजक जीवन दाहालले जानकारी दिए ।  

गत साउन १२ गतेबाट पोखरा सभागृह हलमा आयोजित प्रतियोगिता पाँचौँ दिनमा सोमवार सम्पन्न भएको हो । दोहोरी गीत प्रतिष्ठान गण्डकीका सुमन खड्का उत्कृष्ट गायक घोषित भए भने उत्कृष्ट गायिका पनि प्रतिष्ठान गण्डकीकी सीता परियार घोषित भइन् ।

यसैगरी अनुशासित टिम धौलागिरी दोहोरो साँझ ओसाका जापान बन्न सफल भयो । नव प्रतिभा प्रोत्साहन पुरस्कार जुनेली दोहोरी साँझकी शान्ति कार्कीले प्राप्त गरिन् ।

यो प्रतियोगितामा निर्णायक संयोजकको जिम्मेवारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष रमेश विजीलाई थियो । कल्याण शेरचन स्मृति प्रतिष्ठानले आयोजना गरेको प्रतियोगितामा कुल ४५ टिमको सहभागिता रहेको थियो । 

उत्कृष्ट गायक, उत्कृष्ट गायिका र अनुशासित टिमलाई ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । नव–प्रतिभा प्रोत्साहन पुरस्कार जित्ने प्रतिभालाई  १० हजार रूपैयाँ प्रदान गरियो । 

गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, इन्द्रेणी सांस्कृतिक समाज काठमाडौं र हिमाली सांस्कृतिक परिवार पोखराले सहकार्य गरेको यस प्रतियोगिताको प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको थियोे । 

लोक गायक, स्रष्टा, शिल्पी कल्याण शेरचनको ७६ औं जन्मजयन्तीका अवसर पारेर यो कार्यक्रम आयोजना गरिएका हो । २००३ साल श्रावण १२ गते पोखरामा जन्मिएका शेरचनको २०६७ साल माघ २४ गते निधन भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्