०९ साउन २०८३, शनिबार

धनाढ्य र पढेलेखेकाबाटै स्तनपानमा हेलचेक्र्‍याइँ भयोः स्वास्थ्यमन्त्री खापुङ

धनाढ्य र पढेलेखेकाबाटै स्तनपानमा हेलचेक्र्‍याइँ भयोः स्वास्थ्यमन्त्री खापुङ

स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरूबाट नै बच्चालाई स्तनपान गराउने कुरामा हेलचेक्र्याइँ भइरहेको बताएका छन् । मंगलवार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

मन्त्री खापुङले बच्चालाई हुर्काउने र स्तनपान गराउने मामिलामा बागमतीभन्दा कर्णाली प्रदेश बौद्धिक देखिएको जिकिर गरे । ‘बट्टाको खानेकुरा खुवाउने, स्तनपान कम गराउने संख्या बागमती प्रदेशमा बढी देखियो । विकास निर्माणको अग्रसरतामा सबैभन्दापछि देखिने कर्णाली यहाँ अघि देखियो’, उनले भने ‘कर्णाली प्रदेशका जनतालाई धन्यवाद भन्नुपर्छ । बागमतीमध्ये पनि सबैभन्दा कम स्तनपान गराउने काठमाडौंमा नै होला । त्यसमा पनि बुद्धिजीविहरू, धनाढ्य व्यक्तिहरू होलान् । यो तथ्यांकबाट यही खालको आशय बुझिन्छ ।’

मन्त्री खापुङले हरेक बच्चाले आमाको स्तनपान गर्न पाउने नैसर्गिक अधिकार भएकोले बच्चाको नैसर्गिक अधिकार हनन् गर्न नहुनेमा जोड दिए । उनले शहरी समाजमा बच्चालाई आमाले स्तनपान गराउने कुरामा भइरहेको कमीको कारण पत्ता लगाएर त्यसको निवारण गर्न आवश्यक रहेको बताए । उनले बच्चालाई आमाको स्तनपान नगराउनु प्राकृतिक नियमविपरित भएको बताए । 

मन्त्री खापुङले सरकारले निःशुल्क भनेर घोषणा गरेका औषधिहरू आवश्यक समयमा जनताले निःशुल्क नपाएको कारण पत्ता लगाएर तत्काल समस्या समाधान गर्न पनि सम्बन्धित निकाय र मन्त्रालयका सचिवलाई निर्देशन दिए । उनले निःशुल्क रूपमा सर्वसुलभ तरिकाले उपलब्ध गराउने गरी सरकारले घोषणा गरेको औषधिको व्यवस्थालाई तत्काल कार्यान्वयन गर्नुपर्ने बताए । 

मन्त्री खापुङले कोरोनाको संक्रमण बढिरहेकोले स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन र आम नागरिकले थप सावधानी अपनाउन आग्रह गरे । उनले सप्ताहव्यापी स्तनपान कार्यक्रमलाई नेपालव्यापी रूपमा सफल बनाउन आवश्यक रहेको बताए । 

salt training

कमेन्ट गर्नुहोस्