
नारायणी नदी वर्षाले पानीको बहाव उच्च विन्दुमा पुगेपछि गण्डक बाँधका सबै ३६ वटै ढोका खोलिएको छ । पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक बाँधको ढोका खोलिएको हो । तीन दिनदेखि परेको लगातारको वर्षाका कारण नदीमा पानीको सतह उच्च विन्दुमा पुगेको हो ।
तर, गण्डक बाँधको ढोकाको चाँबी सधैं भारतले राख्ने गरेको छ । देवघाटस्थित जलमापन केन्द्रले नारायणी नदीको पानीको सतह खतरा नजिक पुगेको जनाएपछि तल्लो क्षेत्र (तटीय क्षेत्र)मा समेत खतरा बढ्न सक्ने भन्दै भारतले ढोका खोलेको हो । पानीको सतह बढेर खतरा बढ्न थालेपछि भारतले यसरी नै ढोका खोलिदिने गरेको छ । ढोका नखोले नवलपरासीका ४० बढी गाउँ डुबानमा पर्छन् । नारायणी नदीमाथि निर्माण गरिएको ब्यारेजले पूर्वी नवलपरासीको त्रिवेणी र भारतको बिहार प्रदेशस्थित भैंसालोटन जोडेको छ ।
प्रतिसेकेण्ड साढे ८ लाख क्युसेक बेगको पानी धान्ने क्षमता गण्डक बाँधको हो । पुरानो बाँध भएका कारण संरचनाहरू जीर्ण हुँदा अहिले ब्यारेजले साढे ४ लाख क्युसेकभन्दा बढी पानी धान्न नसक्ने भूआर्जन तथा जनसम्पर्क कार्यालय भैंसालोटनका भूआर्जन अधिकारी अमित खड्काले बताए । ३ लाख ६७ हजार पुगेपछि खतराको लेबल मानिन्छ । अहिले २ लाख ९७ हजार प्रतिसेकेण्डको बेगले पानी बगेको छ । पानी परिरहेकाले कुनै पनि समय खतरा नजिक पुग्न सक्ने उनले बताए ।
पानीको सतह बढ्न थालेपछि तटीय क्षेत्रका स्थानीयलाई उच्च सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । सम्भावित जोखिममा पर्न सक्ने स्थानीयहरूको व्यवस्थापन र उद्दारका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।