१४ असार २०८३, आइतबार

कांग्रेसलाई पहिलो पार्टी बनाउने दुष्ट उद्देश्य राखेका वामपन्थीहरूसँग एकता हुँदैन : केपी ओली

कांग्रेसलाई पहिलो पार्टी बनाउने दुष्ट उद्देश्य राखेका वामपन्थीहरूसँग एकता हुँदैन : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउने दुष्ट उद्देश्य बोकेका वामपन्थीहरूसँग तालमेल नहुने बताएका छन् ।

मंगलवार आयोजित तुलसीलाल अमात्यको स्मृति कार्यक्रममा बोल्दै ओलीले प्रचण्ड र माधव नेपालहरूप्रति संकेत गर्दै कांग्रेसलाई प्रमुख पार्टी बनाउने दुष्ट उद्देश्य राखेकाहरूले गठबन्धन तोडेर आए मात्रै एकता हुनसक्ने दोहोर्‍याएका हुन् ।

ओलीले नेकपा मालेका महासचिव सिपी मैनालीलाई पार्टी एकताका निम्ति आउन आह्वान समेत गरे । दुष्टहरूले चुनावी तालमेलको कुरा गरिरहेको भन्दै अध्यक्ष ओलीले आफूहरू भने पार्टी एकता नै गरेर अघि बढ्नुपर्ने प्रस्ताव गरे ।

देश र जनताविरुद्ध नगएकाहरू एकतावद्ध भएर मुलुकलाई अघि बढाउनुपर्ने उनको भनाइ थियो । ‘अघि सिपीजीले भन्नुभयो नि – देशको सबैभन्दा ठूलो पार्टी, झण्डै दुईतिहाइको पार्टी थियो । उसलाई फुटाएर, त्यसलाई कमजोर पारेर, अदालतमा मुद्दा हालेर परमादेशबाट सरकार गिराएर दक्षिणपन्थी सरकार बनाउने, कम्युनिस्ट पार्टी सिध्याउन, वामपन्थी पार्टी सिध्याउनका लागि गठजोड गर्ने अनि एमाले प्रमुख पार्टी छ, त्यस ठाउँमा कांग्रेसलाई पुर्‍याउनुपर्छ भनेर प्रमुख पार्टी कांग्रेसलाई बनाउन लाग्ने अनि वामपन्थी छु भन्ने । त्यहीँ भएर अस्ती मैले केही दिनअघि बोल्दाखेरी भनेको थिए – वामपन्थी कोही छौं भने कम्युनिस्ट पार्टी सिध्याउने दुष्ट उद्देश्य एकदम सही भन्नुभयो सिपीजीले, दुष्ट उद्देश्य बोकेर दक्षिणपन्थी सरकार टिकाउने र अझ कांग्रेसलाई प्रमुख पार्टी बनाइदिने भन्ने अनि कम्युनिस्ट हुने तिनीहरू ? वामपन्थी हुने तिनीहरू, लाजसरम छैन ? गोरु मात्रै होइन, अरु जनावर पनि लजाउँछन् यस्ता कुराले । अनि वामपन्थी, लोकतान्त्रिक शक्तिहरूको एकता रे ! ज्ञानेन्द्र शाहसँग यिनीहरू मिलेको भए वामपन्थी, लोकतान्त्रिक र देशभक्त भनेर पनि जोड्थे, जोडी हाल्थे । आफूसँग भएन भने दक्षिणपन्थी आदि इत्यादि बन्छ । अहिले कांग्रेस बडो लोकतान्त्रिक, बडो क्रान्तिकारी भएको छ । मैले एउटा हाजिरीजवाफ जस्तो पुष्पकमल दाहालको अन्तर्वार्ता हेरेको थिए, फलानो नेता यस्तो, फलानो नेता त्यस्तो भनेको । सबैलाई अलिअलि आलोचना, निन्दा गरेका थिए । गठबन्धनका नेताहरूलाई पनि माधव नेपाल कस्तो, अराजनीतिक प्राविधिक । झलनाथ कस्तो कुरा गर्नै अल्छी । शेरबहादुर कस्तो ? अत्यन्तै व्यवहार कुशल, यस्तो त मान्छे नै भेटिँदैन भने । यो प्रचण्डको हाजिरीजवाफ । तपाईंहरू पनि यूट्युबहरूमा गएर हेर्न सक्नुहुन्छ । यसस्थितिलाई नेपाली जनताले तोड्नुपर्छ । यो गठबन्धन जस्ता दुष्ट आशय बोकेको त छैनन् अरु दलहरू । दुष्ट आशय नबोकेको हुनाले दुष्ट आशय बोकेकाहरूसँग हामी पार्टी एकता गर्न सक्दैनौं । दुष्ट आशय नबोकेका साथीहरू ए बाबा, यही ठूलै भाडामा पकाएको ढिँडो खाउन् । फेरि यत्रो भाडो के गुजुगुजु पकाइरहनुपर्‍यो । म आह्वान गर्छ, आग्रह गर्छु साथीहरूलाई – आउनुहोस् सँगै मिलेर काम गरौं । यत्रो चुनौती प्रतिक्रियावादीहरूले दिइराखेका छन् अनि के हामीलाई उनीहरूको जस्तै चुनावी तालमेल गरेर, चुनावी तालमेल मात्रै गर्ने हो र हामी । सिपीजी र म एउटा आन्दोलनबाट आएका । एकअर्कालाई बहुत राम्रो चिन्दछौं । जुँगाका रेखी बस्दादेखि नै चिनेको । हामी एउटै आन्दोलनबाट पनि आएको । अलग बस्नुपर्ने कारण नै छैन । हामी कोही पनि देशका विरुद्ध छैनौं, जनताका विरुद्ध छैनौं, प्रगतिका विरुद्ध छैनौं, सुशासनका विरुद्ध छैनौं, विकासका विरुद्ध छैनौं, एकताका आधार यिनै हुन् । अरु साना के–के जाति निकालेर नि केही नगरौं, एकतावद्ध भएर अघि बढौं । म गठबन्धन छाडेर आए, गठबन्धन बेठीक हो भनेर त्यसलाई परित्याग गरेर आए भने उनीहरूको बारेमा पनि विचार गर्न सकिएला । गठबन्धनमा बसेर, दृष्ट उद्देश्य राखेर अनि अस्ती त ५ भाइ भेला भएछन् । जो एमालेमा हुँदा दुःख दिने थिए नि ! ५ भाइ पार्टी फुटाउनेहरू जम्मा भएछन् अनि के पो बनाउने भने समाजवादी केन्द्र अनि समाजवादी भन्दैमा समाजवादी हुन्छ मान्छे ? यी समाजवादी ! यी जनविरोधी, यी देशद्रोही, यी एमसीसी, यी एसपीपी । यिनीहरू समाजवादी । अब यस गठबन्धनलाई जनताले जवाफ दिनुपर्छ । निर्वाचन आउँदैछ । आगामी निर्वाचनमा नेपाली जनताले आफ्नो सचेतता देखाउनुपर्छ, त्यसका लागि आग्रह गर्न चाहन्छु ।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनमा आवद्ध दलहरूलाई देशद्रोहीको संज्ञा दिँदै नेपाली जनताले आगामी निर्वाचनमा सचेततापूर्वक आफ्नो पार्टीलाई विजयी गराउने विश्वास समेत व्यक्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्