
नेपाल भलिबल संघको आगामी भदौमा हुने निर्वाचनमा अध्यक्ष पदका लागि निरोज मास्केले उम्मेदवारीको घोषणा गरेका छन् ।
भलिबल संघका वर्तमान उपाध्यक्ष मास्केले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली भलिबलको व्यावसायिकता र संस्थागत विकासका लागि नेतृत्वमा आफ्नो दाबी रहेको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाल भलिबल संघको केन्द्रीय निर्वाचन आगामी भदौ २२ गते काठमाडौंमा हुँदैछ ।
उनले भलिबलको पूर्वाधार विकासदेखि प्रशिक्षण, प्रोत्साहन र प्रशासनिक सुधारको कार्यक्रमलाई अघि सार्ने बताए । उनले ग्रासरुटदेखि विभिन्न तहको भलिबल टोली निर्माण गर्ने, सोहीअनुसारको कार्यक्रम गर्ने, काठमाडौंसहित देशभरका हरेक प्रदेशमा भलिबलको भौतिक संरचना बनाउने, खेलाडीलाई मासिक सेवा सुविधा उपलब्ध गराउने र संघको प्रशासन चुस्त तरिकाले सञ्चालन गर्ने भनाइ व्यक्त गरे ।
भलिबललाई विद्यालय तहदेखि विश्वविद्यालयको पाठ्यक्रमसम्म जोड्नेदेखि ४ वर्षमा ४ लाख नेपालीलाई भलिबलको प्रत्यक्ष सञ्जालमा जोड्ने महत्त्वाकांक्षी एजेण्डा रहेको उनले बताए । कार्यसमिति सदस्यका रूपमा १६ वर्षअघि संघमा प्रवेश गरेका उनले एक कार्यकाल कोषाध्यक्षका रूपमा समेत काम गरिसकेका छन् । भलिबल नेपालको राष्ट्रिय खेल समेत हो ।