
चीनले ताइवान कार्ड खेल्न बन्द गर्न अमेरिकालाई आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयले अमेरिकालाई ‘ताइवान कार्ड’ नखेल्न र चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न बन्द गर्न आग्रह गरेको हो । साथै ‘गलत तथा खतरनाक बाटोमा नजान’ पनि चीनले अमेरिकालाई सचेत गराएको छ।
अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको चिनियाँ विदेश मन्त्रालयले कडा निन्दा गरेको छ र यसलाई ‘एक चीन नीतिको गम्भीर उल्लंघन’ भनेको छ । जसले चीन–अमेरिका सम्बन्धको राजनीतिक आधारमा ‘गम्भीर असर’ गर्ने चीनको भनाइ छ ।
सभामुखले भ्रमण गरेर अमेरिकाले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लङ्घन गरेको समेत चीनले जिकिर गरेको छ । ‘यसले ताइवानमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउँछ, र ताइवान स्वतन्त्रताका लागि पृथकतावादी शक्तिहरूलाई गम्भीर रूपमा सहयोग पुग्छ’, चीनको भनाइ छ । पोलोसी मंगलबार साँझ चीनको चेतावनीका बीच ताइवान पुगेकी थिइन् ।