२६ असार २०८३, शुक्रबार

पेट्रोलको मूल्य घटाउन माग गर्दै आयल निगममा अनेरास्ववियुको विरोध प्रदर्शन

पेट्रोलको मूल्य घटाउन माग गर्दै आयल निगममा अनेरास्ववियुको विरोध प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले विरोध प्रदर्शन गरेको छ ।

बुधवार आयल निगमको प्रधान कार्यालय अगाडि अनेरास्ववियु बागमती प्रदेश उपत्यका विशेष कमिटीले पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार समायोजन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले विरोध प्रदर्शनसँगै स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्न माग गर्दै निगमलाई ज्ञापनपत्र समेत बुझाएको छ । पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा घटेको र आईओसीले नेपाललाई मूल्य घटाएर पठाउँदा समेत नेपाल आयल निगमले समायोजन नगरेको भन्दै विरोध प्रदर्शन गरेका छन् ।

अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष आरसी लामिछानेले पेट्रोलियम पदार्थको स्वचालित रूपमा मूल्य समायोजन नभएसम्म विरोधका कार्यक्रम जारी राखिने बताए । उनले अहिले सिंहदबारभित्र बसेर आयल निगम सक्ने गरी निजीकरणको तानामान बुन्दै गरेको बताए । लामिछानेले जनताको पक्षमा निर्णय गर्न चुक्न नहुने बताए ।

नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै स्वचालित मूल्य प्रणाली लागू गर्न निगम प्रतिबद्ध रहेको बताए । उनले निगमले अहिले पनि १४ अर्ब भारतीय रुपैयाँ भारतको आयल निगमलाई बुझाउन बाँकी रहेकाले माग पूरा गर्न नसकेको बताए ।

उनले विद्यार्थी संगठनले गरेको माग अनुसार आयल निगमको अवस्थाबारे बुधवार नै विज्ञप्ति सार्वजनिक गर्ने बताए । विरोध प्रदर्शनमा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नुका साथै मूल्यवृद्धि फिर्ता गर, आयल निगमका दलालहरू होसियार, पेट्रोलियम पदार्थको मूल्यवृद्धि समायोजन गर, स्वचालित मूल्य प्रणाली कायम गर, जनताको चुलो निभाउन पाइँदैन, परमादेशी सरकार चाहिँदैन जस्ता नारा समेत लगाएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्