अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण गरेपछि चीनका राष्ट्रपति सी चिनपिङले अमेरिकाविरुद्ध कठोर बयान दिएका छन् ।
‘अमेरिकी प्रतिक्रियावादीहरूले गर्ने सबै उत्तेजनात्मक कारवाहीलाई हामी आँखा च्यातेर हेर्नेछौं,’ सीले बताए, ‘पलोसीको ताइवान भ्रमण साम्राज्यवादीहरूको असभ्य अभियानको अर्को एक भद्दा नमूना हो र चिनियाँ कम्युनिस्ट पार्टीको विजय अवश्यम्भावी छ ।’
अमेरिकालाई प्रतिक्रियावादी र साम्राज्यवादी भनी सीले यसरी सन्दर्भ बनाउनु महत्त्वपूर्ण छ । जनगणतन्त्र चीनका प्रथम राष्ट्रपति माओ चतोङले अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनसँग सम्बन्ध कायम गरेपछि चीनले अमेरिकाविरुद्ध यस्तो कठोर भाषा उपयोग गरेको थिएन ।
आगामी महाधिवेशनमा सी तेस्रो कार्यकालका लागि निर्वाचित हुने र माओ जस्तै गरी कम्युनिस्ट पार्टीको अध्यक्ष बन्ने आकलन गरिएको छ । त्यसैको पृष्ठभूमिमा सीले माओको जस्तो भाषा प्रयोग गरेका हुन् ।