
ऐजेरु रोगका कारण म्याग्दीबाट निकासी हुने प्रमुख कृषि उपज आलुको उत्पादन घटेको छ ।
राम्चे, नागी मात्र नभएर आलु खेती हुने म्याग्दीका सबै ठाउँमा यस वर्ष उत्पादन घटेको किसानले बताएका छन् ।
‘सिक्काइट्रियम इन्डोवायोमेटिकम’ नामक ढुसीबाट हुने ऐजेरुले आलुको बोट र दाना दुवैमा असर पार्छ । यसले दानालाई कालो बनाएर बिगार्छ । किसानका अनुसार यसअघि म्याग्दीको आलु खेतीमा सो समस्या देखिएको थिएन् ।
अन्नपूर्ण गाउँपालिका–८ राम्चेका फासबहादुर पुर्जाले गत वर्षको तुलनामा आधा कम आलु फलेको बताए । ‘हुर्कने र दाना लाग्ने समयमा कीराले पात खाएर बिरुवा नष्ट गरेपछि उत्पादनमा असर पुग्यो,’ उनले भने, ‘गत सालको तुलनामा आधा उत्पादन घट्यो ।’
गत वर्ष २० मुरी आलु उत्पादन गरेका किसानले यसपालि आधा मात्र फलाएका बताए । अन्नपूर्ण–८ नागीका कृष्ण पुर्जाले उत्पादनसँगै किसानको आम्दानी पनि घटेको बताए । बजारमा मागअनुसार आलु पुर्याउन नसकिएको र आम्दानीमा असर परेको पुर्जाले बताए ।
नागी राम्चेबाट वार्षिक २ करोड रुपैयाँ मूल्य बराबरको आलु निकासी हुने गरेको थियो ।
कृषि ज्ञान केन्द्रका अनुसार म्याग्दीमा १ हजार ९५ हेक्टर क्षेत्रफलमा बर्खे र ६२० हेक्टरमा हिउँदे आलु खेती हुने गरेको छ । गत वर्ष १८ हजार १२ मेट्रिक टन बर्खे र ७ हजार २७१ मेट्रिक टन हिउँदे आलु उत्पादन भएको केन्द्रको तथ्यांक छ ।
उच्च पहाडी क्षेत्रको चिसो हावापानीमा उत्पादन भएको आलु पोखरा, काठमाडौं लगायत बजार क्षेत्रमा निकासी हुने गरेको थियो । जिल्लाबाट वार्षिक ६ करोड रुपैयाँ बढी मूल्यको आलु निकासी हुने तथ्यांक छ । उत्पादितमध्ये ७० प्रतिशत अथवा १ हजार मेट्रिक टनभन्दा बढी आलु निकासी हुने गरेको हो । प्रतिकेजी ५०–१०० रुपैयाँसम्ममा आलु बिक्री हुन्छ ।