२५ जेठ २०८३, सोमबार

प्रतिबन्धित लागूऔषधसहित २२ जना पक्राउ

प्रतिबन्धित लागूऔषधसहित २२ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले उपत्यकाको विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित २२ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले २०७८ असार ३२ देखि साउन १८ गते बुधवारसम्म १९ दिनमा ४ महिलासहित १८ पुरुषलाई पक्राउ गरेको हो । 

प्रहरीले साउन ८ गते ताप्लेजुङको मेरिङदेन घर भई ललितपुरको इमाडोल बस्ने ३३ वर्षीय तुलसा खड्कालाई पक्राउ गर्‍यो । उनको साथबाट नाइट्राभेट ट्याब्लेट १ हजार २६० थान, प्रोक्सिभन क्याप्सुल १५० थान, ‘डायलेक्स डिसी’ ६ बोलत र कोडिन जस्तो देखिने रातो रंगको तरल पदार्थ ३०० मिलिलिटर बरामद भयो ।

खड्कालाई लागूऔषध उपलब्ध गराउने सर्लाहीको हरिवन घर भई गोकर्णेश्वर बेंसीगाउँ बस्ने ३५ वर्षीय बुद्ध बमजन र खड्कालाई लागूऔषध कारोबारमा सहयोग गर्ने सुनसरीको बराह घर भई इमाडोल बस्ने २७ वर्षको युवराज खड्कालाई पनि प्रहरी पक्राउ गरेको छ । 

प्रहरीले लागूऔषधसहित पक्राउ परेकाको अनुसन्धानबाट सोही अवैध कारोबारमा सहयोग गर्ने र लागूऔषध उपलब्ध गराउनेसम्मलाई पक्राउ गरेको छ । 

लागूऔषध नियन्त्रण ब्यूरोले साउन १३ गते ३८४ ग्राम हेरोइनसहित रामेछाप नगरपालिका–९ घर भई गोकर्णेश्वर बस्ने ४० वर्षीय जुनमाई मोक्तानलाई पक्राउ गरेको थियो । उपत्यकाको ललितपुर, भक्तपुर र काठमाडौंका विभिन्न स्थानबाट लागूऔषध कारोबारमा संलग्न रहेका सबैलाई पक्राउ गरी प्रहरीले बुधवार सार्वजनिक गरेको हो । 

ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकास खनालका अनुसार पक्राउ परेकाहरूको साथबाट ४५९ ग्राम हेरोइन, ‘डायलेक्स डिसी’ १ हजार १८० बोतल, नाइट्राभेट ट्याब्लेट १ हजार २६० थान र प्रोक्सिभन क्याप्सुल १५० थान बरामद गरिएको छ । 

बरामद गरिएको लागूऔषधको कूल बजार मूल्य ५८ लाख १० हजार ८०० रहेको जानकारी प्रहरीले दिएको छ । 

यसरी अवैध लागूऔषधमा संलग्न हुने र पक्राउ पर्नेको संख्या बढ्दो देखिन्छ । यसअघि साउन १ गते ४ किलो अवैध लागूऔषध हेरोइनसहित अफ्रिकी नागरिक ज्याक एन्टोन एन्गेलब्रेच र भारतका ३२ वर्षीया ज्योथाङ्ीलाई प्रहरीले तिलगंगाबाट पक्राउ गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्