
पोखरा महानगरपालिकाले चिस्यान सुविधा सहितको कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएको छ । ग्रामीण क्षेत्रका कृषकको उत्पादन बजारीकरण गर्न निःशुल्क ढुवानी सुविधासहित एम्बुलेन्स सञ्चालन गर्न लागिएको हो । फलफूल तरकारी मूल्य शृङ्खला विकास आयोजनासँगको साझेदारीमा एम्बुलेन्स सञ्चालन गर्न लागिएको पोखरा महानगरले जनाएको छ ।
एम्बुलेन्स सेवा सञ्चालनसम्बन्धी सम्झौतामा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र कृषि तथा पशुपछी विकास मन्त्रालयका सहसचिव प्रकाशकुमार सन्जेल हस्ताक्षर गरे । कृषि एम्बुलेन्सले महानगरपालिकाका उत्पादन केन्द्रित वडाहरूबाट कृषि उत्पादनको सङ्कलन केन्द्रमार्फत निःशुल्क ढुवानी गर्नेछ भने उपभोक्ता केन्द्रित वडाहरूमा भने वितरणको काम गर्नेछ ।
ग्रामीण क्षेत्रका किसानले उत्पादन गरेको तरकारी मुख्य बजार क्षेत्रका उपभोक्तालाई स्वस्थ उपज खुवाउने महानगरको वार्षिक नीति तथा कार्यक्रमअनुसार कृषि एम्बुलेन्स सञ्चालन गर्न लागिएको प्रमुख आचार्यले बताए ।