
मोडल किम कार्दशियनकी बहिनी क्लो कार्दशियनको घरमा बच्चाको आगमन भएको छ । उनी दोस्रोपटक आमा बनेकी हुन् । उनले ‘सेरोगेसी’ (भाडाको कोख) मार्फत दोस्रो सन्तानलाई घरमा स्वागत गरेकी हुन् । उक्त बच्चा क्लो र उनकी पूर्व ब्वाइफ्रेण्ड ट्रिस्टन थाम्प्सनको हो ।
अघिल्लो महिनामात्र उनीहरूले दोस्रो सन्तानको योजना बनाएको खुलासा भएको थियो । छोरा जन्मिएपछि क्लो र ट्रिस्टन खुशी देखिएका छन् । बच्चा जन्मिनु अघि क्लोले एक अखबारलाई अन्तर्वार्ता दिँदै भनेकी थिइन्, ‘हामी पुष्टि गर्न सक्छौँ कि ट्रू काे अर्को भाइ जन्मिएको छ । अघिल्लो वर्ष हामीले गर्भाधानका लागि सेरोगेट छनोट गरेका थियौँ ।’ उनले सेरोगेटको बारेमा भने बताइनन् । उनले गोपनीयता कायम राखिदिन भनेकाले यसबारेमा नखुलाएको क्लोले प्रष्ट पारेकी थिइन् ।
यद्यपि, क्लो र ट्रिस्टनको सम्बन्ध उनीहरूको बच्चा जन्मिनु पहिले नै टुंगिएको थियो । हाल उनीहरू अलग–अलग बसिरहेको स्रोतले जनाएको छ । क्लोले ट्रिस्टनलाई चिट गरेको आरोप लगाएकी थिइन् ।
सन् २०१९ फेब्रुअरीमा ट्रिस्टनले क्लोकी साथी जोर्डन वुडलाई एक पार्टीमा चुम्बन गरेका थिए । सोही कारण उनीहरूको ब्रेकअप भएको थियो । त्यसपछि दुई जना फेरि सम्बन्धमा रहेको खबर सार्वजनिक भएपछि २०२१ बाट उनीहरू फेरि अलग भएको समाचार सार्वजनिक भएको थियो ।