२७ असार २०८३, शनिबार
फिफा विश्वकप–२०२६

रोमाञ्चक खेलमा क्रोसियाविरुद्ध पोर्चुगलको नाटकीय जित

असार १९, २०८३
काठमाडौं
रोमाञ्चक खेलमा क्रोसियाविरुद्ध पोर्चुगलको नाटकीय जित

फिफा विश्वकपअन्तर्गत नकाउट खेलमा पोर्चुगल विजयी भएको छ। नाटकीय खेलमा क्रोएसियालाई २–१ ले हराउँदै पोर्चुगल अन्तिम १६ मा पुगेको हो । अब पोर्चुगलले अर्को चरणमा स्पेनको सामना गर्नेछ। पराजित क्रोएसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफ भने निकै रोमाञ्चक रह्यो। खेलको ५३औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुवाती अग्रता दिलाएका थिए । उनले जोसिप स्टानिचिचको पासमा देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । 

एक गोलले पछि परेपछि पोर्चुगलले आक्रामक खेल्यो। यसै क्रममा राफेल लियोको प्रहार पोलमा लागेर फर्कियो। खेलको ६०औं मिनेटमा रोनाल्डोले गोल गरे पनि भिएआरले त्यसलाई अफसाइड देखायो । 

खेलमा पकड जमाउन पोर्चुगलका प्रशिक्षक रोबर्टो मार्टिनेजले एकैपटक चार खेलाडी परिवर्तन गरे। यो रणनीति तुरुन्तै सफल भयो। क्रोएसियाका डिफेन्डरले रेनाटो भेइगालाई बक्सभित्र लडाएपछि पोर्चुगलले पेनाल्टी पायो। खेलको ६८औं मिनेटमा प्राप्त पेनाल्टीलाई कप्तान क्रिस्टियानो रोनाल्डोले गोलमा परिणत गरे। 

यो गोलसँगै रोनाल्डोको विश्वकप नकआउट चरणको २० वर्ष लामो गोल खडेरी समाप्त भयो। ४१ वर्षको उमेरमा गोल गर्दै उनी विश्वकप नकआउटमा गोल गर्ने सबैभन्दा पाको खेलाडी बनेका छन्। 
विश्वकपमा उनको कुल गोल संख्या ११ पुगेको छ। उनी सर्वाधिक विश्वकप गोल गर्नेको सूचीमा नवौँ स्थानमा आइपुगेका छन्। उनले खेलेको २६ औं विश्वकप खेल मेसीपछिको दोस्रो धेरै हो।

खेल १–१ को बराबरीमा सकिनै लाग्दा इन्जुरी समयको अन्तिम मिनेट (९०+४ औं मिनेट) मा गोन्सालो रामोसले गोल गरे। रामोसको यही निर्णायक गोलसँगै पोर्चुगलले २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो।

खेलको अन्तिम क्षण भने निकै विवादास्पद बन्यो। क्रोएसियाका मारियो पासालिचले गोल गर्दै खेल २–२ को बराबरीमा पुर्‍याएका थिए। तर भिएआरले त्यसलाई अफसाइड देखाउँदै गोलको मान्यता दिएन । यसबाट आक्रोशित क्रोएसियाका समर्थकहरूले मैदानमा बोतल फालेर र सिठ्ठी बजाएर चर्को विरोध गरेका थिए । अन्ततः पोर्चुगल २–१ ले विजयी भयो।

salt training

कमेन्ट गर्नुहोस्