
युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले युवा जनशक्तिलाई नेपालमै रोक्नुपर्ने बताएका छ । पछिल्लो समय युवाहरू विदेशिने क्रम बढिरहेकोतर्फ इंगित गर्दै मन्त्री अथकले युवा शक्तिलाई स्वदेशमै रोक्न सरकारले प्रयास गरिरहेको बताएका हुन् ।
राष्ट्रिय युवा परिषद्अन्तर्गतको रिटर्नी युवा सञ्जालले शनिवार काठमाडौंमा आयोजना गरेको ‘वैदेशिक रोजगारबाट फर्केका युवाहरूको अवस्था, समस्या र सम्भाव्यता’ सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री अथकले विदेशबाट फर्किएका युवाहरूलाई स्वरोजगार र उत्पादनमा जोड्नुपर्ने बताए । उनले स्वदेशमै केही गर्ने वातावरण सिर्जना गर्न सरकार प्राथमिकतापूर्वक लागिरहेकाले विदेशमा सिकेको सिप नेपालमा सदुपयोग गर्न युवाहरूलाई आग्रह समेत गरे ।
विभिन्न कालखण्डमा परिस्थितिवस विदेशीएका युवाहरूलाई स्वदेशमै फर्कने वातावरण बनाउन सरकार लागिपरेको उल्लेख गर्दै मन्त्री अथकले विदेशमा सिकेको सीपलाई नेपालमै सदुपयोग गर्न युवाहरूलाई आग्रह गरे ।
प्राकृतिक तथा भौगोलिक रूपमा नेपाल धेरै सम्भावना बोकेको मुलुक भएकाले यहाँको युवा जनशक्तिलाई नेपालकै विकासमा लगाउनुपर्नेमा मन्त्री अथकको जोड थियो । राष्ट्रिय युवा परिषद् र युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत युवाहरूको समग्र विकासमा राज्यले ठूलो लगानी गर्दै आइरहेको उनले बताए ।
अध्ययन तथा रोजगारीको सिलसिलामा केही समय बिदेश बाहिर रहेका युवाहरूलाई स्वदेशमै एकत्रित गरी मन्त्रालयले उनिहरूको अनुभव र सीपलाई सदुपयोग गर्न बृहत्त युवा सम्मेलन मार्फत रणनैतिक योजना बनाउने तयारी गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष सुरेन्द्र बस्नेत, युवा तथा साना ब्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारी, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ, युवा अर्थशास्त्री डिपि ढकाल, युवा परिषद् सम्बद्ध रिटर्नी युवा सञ्जालका पदाधिकारीलगायत विभिन्न देशबाट नेपाल फर्किएका युवाहरूको सहभागिता रहेको थियो ।