
भारतीय र अमेरिकी सैनिकहरूले भारतको उत्तराखण्डस्थित औली नामक स्थानमा अक्टोबर महिनामा संयुक्त अभ्यास गर्न लागेको सीएनएनले खबर दिएको छ ।
औली चीनको न्गारी क्षेत्रबाट जम्मा ९५ किलोमिटर टाढा पर्छ । ताइवानका विषयमा अमेरिका र चीनबीच विवाद चर्किएको बेलामा भारत र अमेरिकाका सैनिकको संयुक्त अभ्यास हुन लागेको खबर आएको हो ।
औली नेपालको दार्चुला जिल्लाबाट ५०० किलोमिटर टाढा छ । हिमालय पर्वतशृंखलाको दक्षिणी मोहोडामा पर्ने औली समुद्री सतहबाट ३ हजार मिटरको उचाइमा पर्छ ।
भारत र चीनबीच सन् २०२० मा गलवान उपत्यकामा भएको हिंस्रक संघर्षपछि सम्बन्ध चिसिएको अवस्था छ ।
अमेरिका र भारतका सैनिकहरुले नियमित अन्तरमा युद्ध अभ्यास नामक दिइएको संयुक्त सैन्य अभ्यास गर्ने गरेका छन् । यसभन्दा लगत्तै अघि यी दुई देशका सैनिकले अमेरिकाको अलास्कामा अभ्यास गरेका थिए ।