
गृह मन्त्रालयले नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले सोमवार एक विज्ञप्ति जारी गर्दै नागरिकतामा अपमानजनक शब्द प्रयोग नगर्न निर्देशन दिएको हो ।
मन्त्रालयका सहसचिव एवम् प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिएका हुन् ।
निर्वाचन आयोगले बाग्लुङकी एक मतदातालाई दिएको मतदाता परिचयपत्रमा नाम कुकुर्नी कमिनि राखेको सार्वजनिक भएपछि यसको सर्वत्र आलोचना भएको थियो ।
गृह मन्त्रालयले सोही मतदाता परिचयपत्र बनाउँदा नागरिकतामा समेत सोही नाम प्रयोग गरेको पाइएपछि अपमानजनक नाम प्रयोग नगर्न निर्देशन दिएको हो ।
त्यसरी अपमानजनक शब्द प्रयोग गरी जारी भएका नागरिकता प्रमाणपत्रमा सम्बन्धित व्यक्तिले सच्याउन माग गरेमा आवश्यक प्रक्रिया पूरा गरी सच्याउने व्यवस्था मिलाउन समेत मन्त्रालयले भनेको छ ।
विभिन्न जिल्लाहरूबाट जारी भएका नेपाली नागरिकताका प्रमाणपत्र जारी गर्दा अपमानजनक शब्द राखी जारी भएको पाइएपछि न्त्रालयले यसबारे गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।
