०८ साउन २०८३, शुक्रबार

चीनमा प्रदर्शन हुँदै ‘राधा’, दूतावासले माग्यो फिल्म

चीनमा प्रदर्शन हुँदै ‘राधा’, दूतावासले माग्यो फिल्म

नेपाली चलचित्र ‘द सिक्रेट अफ राधा’ चीनमा प्रदर्शन हुने भएको छ ।

नेपाल प्रदर्शनअघि नै चलचित्र चीनको फेस्टिभलमा प्रदर्शन हुने भएको हो । चाइना पर्फमेन्स इन्ड्रस्टिज एसोसिएनको आयोजनामा हुन लागेको ‘बेइजिङ इन्टरनेसनल डान्स भिडियो फेस्टिभल – २०२२’ मा ‘राधा’ प्रदर्शन हुने भएको हो । १५ अगस्ट अर्थात साउन ३० गते फेस्टिभलमा ‘राधा’ प्रदर्शन हुनेछ । ग्वान्झाओस्थित नेपाली महावाणिज्य दूतावासले मंगलबार निर्मातालाई पत्र पठाउँदै यसबारे जानकारी दिएको हो । 

नेपालको उत्कृष्ट डान्स भिडियो प्रदर्शन तथा नेपाली चलचित्रलाई चिनियाँ बजारमा प्रबद्र्धन गर्न सहयोगका लागि आयोजकले ‘राधा’लाई छनोट गरेको हो ।

आयोजकले समन्वय गर्न दूतावासलाई आग्रह गरेको छ । दूतावासले पत्रमार्फत सहभागिताको लागि चलचित्रको पूर्ण स्क्रिप्ट, प्रिमियर भिडियो र चलचित्रमा समावेश तीजको गीत मागेको छ । ‘नेपालमा रिलिज नहुँदै चीनमा आधिकारिक क्षेत्रबाट प्रदर्शनका लागि छनोट हुनु एकदमै खुशीको कुरा हो । यसलाई लिएर एकदमै उत्साहित छौं,’ निर्मातामध्येकी देवकी बिष्टले लोकान्तरसँग भनिन् । 

नेपालमा भदौँ १० गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रमा सृष्टि श्रेष्ठ शीर्ष भूमिकामा छिन् ।

उनको साथमा खगेन्द्र लामिछाने, मेनुका प्रधान, दिव्य देव, लोकेन्द्र लेखक, निश्चल बस्नेत, दयाहाङ राई, सौगात मल्ल, बुद्धि तामाङ, पशुपति राई लगायतको अभिनय छ ।

चलचित्रलाई सुवर्ण थापाले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा देवकी बिष्टसँगै विक्रम दास जोशी र अभिनेता सौगात मल्लको समेत लगानी छ । एक विवाहित महिलाले घरमा श्रीमान नहुँदा गर्ने संघर्षको कथा चलचित्रले पेश गर्छ ।

salt training

कमेन्ट गर्नुहोस्