
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सबै उम्मेदवारहरुको समान हैसियत हुनेगरी समाचार प्रसारण तथा प्रकाशित गर्न सञ्चारमाध्यमहरूलाई आग्रह गरेका छन् ।
विगतमा कतिपय अवस्थामा राजनीतिक दल र तिनका उम्मेदवारहरूलाई निर्वाचनको सिद्धान्त विपरीत फरक–फरक हैसियत हुने गरी समाचार प्रेषित हुने गरेको पाइएको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा त्यस्तो विभेद नगरी समाचार प्रसारण तथा प्रकाशन गर्न सञ्चारमाध्यमलाई आग्रह गरे ।
स्थानीय तह निर्वाचन २०७९ को प्रगति समिक्षा गर्नका लागि मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफैंसँग साझेदारी गरिरहेका सञ्चारमाध्यामसँग निर्वाचन आयोगले स्पष्टीकरण लिनुपर्ने अवस्था आउन नदिन पनि सञ्चारमाध्यमलाई सचेत गराए ।
उनले स्थानीय तह निर्वाचनमा जस्तो मतदातालाई समस्या हुने खालको मतपत्र प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नहुने पनि स्पष्ट पारे । प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘सबै राजनीतिक दल र उम्मेदवारहरूलाई निर्वाचनको सिद्धान्त बमोजिम समान हैसियत कायम गर्ने ढंगले सबैलाई समान व्यवहार गर्ने ढंगले समाचारहरू, सूचनाहरू सम्प्रेषण गरिदिनुपर्यो । तपाईंहरू धेरै जान्ने हुनुहुन्छ, लेख्दालेख्दै, अलिअलि पढ्दापढ्दै हामी पनि बुझ्छौं । तपाईंहरूले कसलाई कसरी सपोर्ट गर्नुभएको छ, त्यो हामी पनि बुझ्दछौं । हामीले त्यसरी बुझ्नुपर्ने अवस्था नहुने गरी सबैप्रति समान व्यवहार गरिएको छ भन्ने हिसाबले सहयोग गरिदिनुपर्यो । दोस्रो, एउटा समाचारमाध्यम, जोसँग साझेदारी गरिएको छ । उसैलाई स्पष्टीकरण सोधिराखेको छ आयोगले । तपाईंहरूलाई स्पष्टीकरण सोध्दा हामीलाई कति पीडा हुन्छ । त्यस्तो अवस्था आउन नदिने कुरामा ध्यान दिनुहोला ।’
प्रदेशसभा र प्रतिनिधि सभाको आगामी निर्वाचन मंसिर ४ गते आइतवार हुँदैछ ।