
निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ गर्ने भएको छ । आयोगले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार मंसिर ४ गते तय भएको प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अद्यावधिक (दाबी विरोध समेत) को कार्यक्रम सञ्चालन हुनेछ ।
उक्त अवधिमा नामावलीमा भएको त्रुटि सच्याउने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, दोहोरो नामावली भएको भए हटाउन निवेदन दिने, एकाघर परिवारका सदस्यको मृत्यु भएको भए हटाउन निवेदन दिने, एकै वडाका दुई वा दुई भन्दा बढी मतदान स्थल भएकोमा पायक पर्ने मतदान स्थलमा नाम सार्न निवेदन दिने लगायतका विषयहरु कार्यक्रममा समावेश गरिएको आयोगको भनाइ छ ।
नामावली अद्यावधिक कार्यका लागि इमेल, फ्याक्स तथा अनलाइन समेतबाट निवेदन दिने व्यवस्था गरिएको छ । मतदाता नामावली अद्यावधिक कार्यक्रम सम्पन्न भए पश्चात प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको लागि भदौ ३१ गते अन्तिम मतदाता नामावली प्रकाशन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
मतदान हुने मिति भन्दा अघिल्लो दिनसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावलीलाई अद्यावधिक तथा दाबी विरोधको प्रक्रिया प्रारम्भ भएको आयोगको भनाइ छ । निर्वाचनको मिति घोषणा भए पश्चात निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयहरुबाट हुँदै आएको मतदाता नामावली संकलन कार्य साउन २० बाट स्थगन भएको थियो ।