
प्रतिनिधि सभाको बैठक आज (बुधवार) पनि बस्दै छ ।
आज दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न कार्यसूचीहरू पेश हुनेछन् ।
आज बैठकको शुरूमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाको सन्देश सहितको ‘तथ्याङ्क विधेयक, २०७८ माथिको दफावार छलफल सदनमा गरियोस’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
त्यसपछि ‘तथ्याङ्क विधेयक, २०७८’माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
आजैको बैठकमा प्रधानमन्त्री देउवाले तथ्याङ्क विधेयक, २०७८ लाई पारित गर्नका लागि संसदमा प्रस्ताव गर्नेछन् ।
यस्तै आजको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय सभाको सन्देश सहितको ‘शपथ सम्बन्धी विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस्‘ भनी प्रस्ताव प्रस्तुत गरिनेछ ।
सो विधेयक माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरेपछि प्रधानमन्त्री देउवाले पारितका लागि प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको छ ।
बुधवार बस्ने प्रतिनिधि सभा बैठकमा खानेपानी मन्त्री उमाकान्त चौधरीले ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ माथिको दफावार छलफल सदनमा गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
त्यसपछि सो विधेयक माथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ ।
आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री राईले राष्ट्रिय सभाको सन्देश सहितको ‘शहरी क्षेत्र सार्वजनिक यातायात (व्यवस्थापन) प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस’‘ भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
![]()